निजगढ,जिल्ला प्रशासन कार्यालय बाराले मंगलवार निजगढका पसल र व्यवसायमा अनुगमन गरेको छ । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य नेतृत्वको टोलीले निजगढमा ६ वटा पसल र २ अन्य व्यवसायको अनुगमन गरेको हो ।टोलीले कानुन विपरीत बिक्रीको लागि पसलमा राखिएका म्याद गुज्रेका र लेबल नभएका गुणस्तरहीन र अखाद्य सामग्री जफत गर्नुको साथै त्यस्ता व्यवसायीहरुलाई नगद जरिवानासमेत गरेको छ । म्याद गुज्रेतको पेय पदार्थ बिक्रीको लागि राखेको पाइएपछि सामान जफत गर्नुको साथै जरिवाना तिराएको जिल्ला प्रशासन कार्यालयका नासु एवंम अनुगमन टोलीका सदस्य रत्न स्याङ्गतानले जानकारी दिनुभयो । उहाँका अनुसार निजगढको रवि कोल्ड स्टोर र निजगढ सुप मार्टलाई जरिवाना तिराइएको हो । टोलीले निजगढस्थित पिरु फाउण्डेशन र निता फाउण्डेशनको सुधार गृहको पनि अनुगमन गरेको थियो ।अनुगमन टोलीमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, बाणिज्य विभाग, घरेलु तथा साना उद्योग कार्यालय, निजगढ नगरपालिका र निजगढ उद्योग बाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



















