वीरगन्ज,वीरगन्जको अलौंमा मानसिक सन्तुल बिग्रिए पछि १५ वर्षदेखि फलामको सिक्रीले बाँधेर राखिएका एक पुरुषलाइ मानव सेवा आश्रमले उद्धार गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका हृदयनारायण साहलाई महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीको पहलमा बुधबार मानव सेवा आश्रमले उद्धार गरेको हो । बुधबार घरबाट उद्धार गरि मानव सेवा आश्रममा ल्याएर राखिएका साहको औषधी उपचार पनि शुरु गरिसकिएको मानव सेवा आश्रम प्रदेश २ का संयोजक देवेश गुप्ताले जानकारी दिनुभयो । साहको मानसिक सन्तुलन बिग्रिएको र घरबाट भागेर हिड्न थालेपछि परिवारजनले उनको हात र खुटटामा फलामको सिक्रीले बाँधेर विगत १५ वर्षदेखि घरमा नै राखेका थिए । परिवारको आर्थिक अवस्था निक्कै कमजोर भएका कारणले परिवारजनले साहको उपचार पनि गर्न सकेका थिएनन् । विगत १५ वर्षदेखि फलामको सिक्रीले बाँधेर घरमै राखिएको खबर पाएपछि नगरप्रमुख सरावगी बुधबार मानव सेवा आश्रमको टोली लिएर साहको घरमै पुग्नु भएको थियो । साहको घरमा पुगेपछि उनलाई त्यही नुहाइधुवाइ गरेर सफा सुग्घर पारी नयाँ वस्त्र लगाएर प्रहरीको भ्यानमा राखेर मानव सेवा आश्रममा ल्याएर हातखुटटामा लगाइएको फलामको सिक्री काटेर राखिएको मानव सेवा आश्रम प्रदेश २ का संयोजक गुप्ताले बताउनुभयो । निको नभएसम्म साहलाई मानव सेवा आश्रममै राखिने पनि उहाले बताउनुभयो । यसैबीच मानव सेवा आश्रमले साहको मासिक पालनपोषण खर्चको ५० प्रतिशत अर्थात मासिक ५ हजार रुपैया बेहोरी बेसहाराको अभिभावक बन्न कोहि दाता इच्छुक भएमा मानवसेवा आश्रम प्रदेश नंबर २ का संयोजक देवेश गुप्ताको मोबाइल नम्बर ९८५५०७६००८ वा जिल्ला संयोजक सानु मानवसेवाको मोबाइल नम्बर ९८४३३४७६३७ मा सम्पर्क गर्न सक्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here