जनकपुरधाम,भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधामदेखि अयोध्यासम्म रेल जाने भएको छ ।नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले अयोध्या जाने रेलको टिकटको बुकिङसमेत खुलिसकेको जानकारी दिनुभयो । महाप्रबन्धक झाले आइतवार बिहान साढे ६ बजे जनकपुरधामबाट अयोध्याका लागि रेल छुट्ने जानकारी दिनुभयो । त्यसका लागि शनिवार राति भारतीय रेल जनकपुरधाम आइपुग्नेछ ।परराष्ट्र मन्त्रालयको पहलमा भारतीय दूतावासमार्फत भारतीय रेल्वेले श्रद्धालुको सहुलियतका लागि रेल पठाउन लागेको हो । भारतबाट आउने रेल आइतवार बिहान साढे ६ बजे अयोध्याका लागि छुट्नेछ भने सोमबार राति ११ बजे जनकपुरधामका लागि अयोध्याबाट छुट्नेछ । नेपाल रेल्वेलाई १ हजार ४ सयसम्म टिकट काट्ने अनुमति दिइएको छ ।यसैबीच भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको प्राण प्रतिष्ठाको दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिन जानकी मन्दिरले मुख्यमन्त्री सरोजकुमार यादवसँग आग्रह गरेको छ ।जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले माघ ८ गते सोमबार प्रदेशभरि सार्वजनिक बिदा दिइ सो दिन दिपावली मनाउनका लागि मुख्यमन्त्रीलाई आग्रह गर्दै ज्ञापनपत्र बुझाउनुभएको हो ।
विश्वकै हिन्दु धर्मावलम्वीहरूमा गौरव तथा हर्षोल्लास छाएकाले सो दिन दिपावली मनाउन आग्रह गर्दै प्रदेशमा सार्वजनिक बिदा दिन उत्तराधिकारी दासले आग्रह गर्नुभएको हो ।



















