कलैया,नेपाल ईन्स्टिच्युट अफ मासकम्युनिकेसन प्रालिले कलैयामा आइतवार आयोजना गरेको मधेस प्रदेश मिडिया अवार्डको नाममा छनौट भएकाहरुलाई प्रशंसापत्र मात्रै प्रदान गरेपछि सहभागीहरुले असन्तुष्टि जनाएका छन ।

अवार्ड वितरण गरिनु पूर्व आयोजना गरिएको पत्रकार समेलनमा आयोजकले प्रदेशमा क्रियाशील पत्रकारको मनोबल बढाउन र संचार क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागिएको जानकारी गराएको भए पनि छनौट भएका पत्रकारहरुलाई कुनै किसिमको अवार्ड र पुरस्कार प्रदान नगरी प्रमाणपत्र मात्रै दिइएको भन्दै सहभागीहरुले कार्यक्रमप्रति असंतुष्टि जनाएका हुन ।

मधेस प्रदेशका ८ वटै जिल्लाबाट बोलाइएको सहभागी तथा उत्कृष्ट संचारकर्मी र मिडिया हाउसको रुपमा छनौट गरिएको नाम रातारात फेरबदल गरिएको पनि कार्यक्रमका एक सहभागीले बताएका छन । विभिन्न मिडियाका उत्कृष्ट संचारकर्मीलाई अवार्ड वितरण गर्ने भनिएको भए पनि सहभागीलाई प्रसंशापत्र मात्र प्रदान गरेर झुक्याइएको उनको भनाइ छ । जिल्ला बाहिरबाट बोलाइएका संचारकर्मीहरुको लागि खाना र खाजाको व्यवस्था समेत नभएको भन्दै सहभागीहरुले आयोजकको आलोचना गरेका थिए । आयोजनकले अन्तिम समयमा आएर नास्ता र खानाको सुविधा कटौती गरेको एक सहभागीले कृपा दैनिकलाई जानकारी गराएका छन ।

प्रालिका संचालक आनन्द शर्माले मधेस प्रदेश मिडिया अवार्ड कार्यक्रम आयोजना गर्न नेपाल पत्रकार महासंघ बारा शाखामा कुनै किसिमको समन्वय र सहकार्यसमेत नगरेको बताइएको छ ।

मास कम्युनिकेशन प्रालिले कार्यक्रम आयोजना गर्न भनेर जिल्लाका विभिन्न स्थानीय तहबाट ठूलो रकम संकलन गरेको तर अवार्डसहित सहभागीलाई खाना र नास्ताको सुविधासमेत नदिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो । मिडिया अवार्डका संचालक शर्माले यसअअघि कार्यक्रम आयोजना गर्न करिब १५ लाख रुपैया खर्च हुने जानकारी दिनुभएको थियो ।

मधेस प्रदेशभित्रका ८ वटै जिल्लाका उत्कृष्ट संचारकर्मी र मिडिया हाउसलाई अवार्ड दिने भनेर यसअघि गत असार २५ गते राखिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिनुभएका मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी विशेष कारणले अनुपस्थित हुने भएपछि स्थगित गरेर आइतवार आयोजना भएको थियो ।

आयोजकले व्यवस्थापन राम्रो गर्न नसक्दा बारा जिल्लाकै प्रतिष्ठामा आँच पुगेको स्थानीय एक संचारकर्मीले बताएका छन ।

कलैयास्थित करण राज पैलेसमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले छनौट भएका व्यक्तिहरुलाई प्रसंशापत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा बारा जिल्लाबाट कलैयाको संस्कार एफएम, संचारकर्मी दिवाकर भण्डारी, रामेश्वर मेहता, जी न्युज र रमेश सुवेदीले अवार्ड प्राप्त गरेकाछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here