कलैया – प्रहरीले बारा र पर्साबाट बारा र पर्साबाट ठूलो परिमाणको गाँजा बरामद गरेको छ । पर्सा प्रहरीले कारोबारमा संलग्न भएको आरोपमा १ जनालाई नियन्त्रणमा लिएको हो भने बारा प्रहरीले भने तस्कर फरार बनेपछि ठूलो परिमाणको गाँजामात्रै बरामद गरेको हो ।
बारा प्रहरीले जिल्लाको पचरौता नगरपालिका ७ स्थित बेनौली चोकबाट करिब ३०० मिटर पूर्व धानखेतमा एम्बुस थापेर निगरानी गर्ने क्रममा एक सय ५१ किलो लागूऔषध गाँजासहित बरामद गरेको हो । शनिबार राति करिब १०ः३० बजे प्रहरी चौकी श्रीनगर बैरियाबाट असई राजेश सिंह र सशस्त्र प्रहरी बल, नेपाल बीओपी बेनौलीबाट सई श्यामबहादुर खत्रीको नेतृत्वमा खटिएको संयुक्त टोलीले धानखेतको आलीको बाटो हुँदै ८÷९ जना अपरिचित व्यक्ति पिठ्युँमा केही बोकेर आउँदै गरेको देखेको थियो ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन लखेटेपछि ती व्यक्तिहरूले पिठ्युँमा बोकेर ल्याएको गाँजाका पोका धानखेतमै फालेर फरार भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिनुभयो । प्रहरीले बरामद गरेका ९ वटा गाँजाका पोका तौल गर्दा जुटको बोरासहित प्रत्येक पोका करिब १६.७७ किलो रहेको छ ।
बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढ पठाइएको छ ।
फरार भएका व्यक्तिहरूको पहिचान तथा खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । त्यसैगरी पर्सा प्रहरीले ४० किलो गाँजासहित एक जना युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लुकाइ छिपाई राखेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा पर्सागढी नगरपालिका वडा नम्बर ३ बस्ने गोरे लामालाई आइतबार पक्राउ गरिएको हो ।
प्रहरी प्रवक्ता एवं डीएसपी चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका लामालाई थप अनुन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
















