कलैया,बारा जिल्लामा दिनहुँजसो हुदैआएको विद्युत अवरोधसम्बन्धि समस्या समधानको लागि बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको पहलमा सरोकारवालासंग सोमवार सहजीकरण तथा समन्वय बैठक सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा भएको सो बैठकमा जिल्लाका सबै प्रमुख दलका प्रतिनिधि, जनप्रतिनिधिहरुर सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

जिल्लामा लामो समयदेखि देखिएको विद्युत सेवासम्बन्धी समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी अधिकारीको पहलमा सरोकारवाला निकायहरूसंग सहजीकरण तथा समन्वय बैठक सम्पन्न भएको हो । बैठकमा नेपाल विद्युत प्राधिकरण, स्थानीय तहका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघ, उपभोक्ता समिति, सञ्चारकर्मी तथा अन्य सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।बैठकमा प्रमुख जिल्ला अधिकारीले विद्युत आपूर्तिमा देखिएको अव्यवस्था, ट्रान्सफर्मर र तारहरूको समस्या, लोडसेडिङको सम्भावना, अवैध विद्युतीय जडान तथा उपभोक्ताको गुनासोका विषयमा छलफल गरिएको छ। उहाँले सबै पक्षको सहकार्यबिना समस्या समाधान सम्भव नरहेको उल्लेख गर्दै शीघ्र कार्ययोजना बनाउन निर्देशन दिईएको छ।उहाँले काम नगर्ने ठेकेदारलाई थुन्ने बताएका छन । विधुत कार्यालयमा फोन जादा नउठाउने गलत प्रवृत्तिको अन्त्य गर्न बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण कलैया वितरण केद्रको प्रमुख इन्जिनियर हिमान्शुकुमार यादवले बारामा बढ्दो जनसंख्या र औद्योगिक विस्तारसँगै विद्युत माग अत्यधिक बढेको बताउँदै नयाँ संरचना निर्माण र सुधारका लागि योजना अघि बढाइएको जानकारी दिनुभयो । उहाँले पिलुवाको आदर्श चौकमा स्थानीय वडा अध्यक्षको हठले ३३ केभी लाईनको प्रसारण सुचारु नहुँदा कलैयामा समस्या आएको बताउनुभयो ।कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले कलैया उपमहानगरभित्र विद्युत प्रसारणका लागि आवश्यक सबै सहयोग गर्न आफूहरु तम्तयार रहेको बताउनुभयो ।नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्ड्येले ठेकेदार र विद्युत प्राधिकरणले समय बढाएर ठेक्काको रकम बढाउने चलखेल भएको आफूलाई लागेको बताउनुभयो । बाराको कुनै स्थानमा विद्युत अवरोध भयो भने अब जनता चुप लागेर नबस्ने उहाँले चेतावनी पनि दिनुभयो । विद्युत प्राधिकरणले डिपिआर अनुसार पारदर्शी भएर काम नगरेकोप्रति जनता असन्तुष्ट रहेको उहाँको भनाई थियो ।

बारामा अहिलेका सिडिओ अहोरात्र खटेर काम गर्ने प्रवृत्तिको भएको र यही मौकामा हामी सबै मिलेर जिल्लामा रहेका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । पाण्ड्येले जनताको ट्याक्सको पैसाले तलब खाएका कर्मचारी जनताप्रति बफादार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले जति विरोध गरे पनि जिल्लाका जनतालाई प्राधिकरणले विभिन्न बहानामा झुक्याउदैआएको बताउनुभयो ।रास्वपा बाराका सभापती चन्दन स्वर्णकारले विद्युतले स्थानीयसंग सहयोग मागेर काम नगरेकोप्रति दुख व्यक्त गर्नुभयो ।

पचरौता नगरपालिकाका पूर्वमेयर तथा जसपा नेपाल बाराको अध्यक्ष रमेश यादवले अहिलेका विद्युत प्राधिकरण कलैयाका हाकिमले यसको जिम्मेवारी लिनुपर्ने बताउनुभयो । नागरिकले शुल्क दिएर पनि सेवा नपाउनु अत्यन्तै गलत र अपराधिक कार्य भएको बताउनुभयो ।नेमकिपा बाराका अध्यक्ष मुक्ति यादवले राज्यको गलत नियमका कारण ठेकेदारले समयमा काम नगर्दा प्रत्येक वर्ष १० प्रतिसत पैसा थपेर अझ उनीहरुको मनोबल बढाउने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो ।
माओवादी केन्द्रका उमेश यादवले अहिलेका सबै विद्युत प्राधिकरणका आएका कुरा गैरजिम्मेवार भएको बताउनुभयो । काम नगर्ने उपर कडा रुपमा प्रस्तुत हुन पर्ने उहाँको भनाई थियो ।

नेपाल विधुत प्राधिकरण कलैयाका ईन्चार्ज दिपेन्द्र साहले कलैया वितरण केन्द्रमा २८ मेगावाटको माग रहेको तर १४ मेगावाट हाराहारीमा मात्र विद्युत आपूर्ति भैइरहेको बताउनुभएको छ ।स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो क्षेत्रका समस्याहरू उजागर गर्दै आवश्यक स्थानमा ट्रान्सफर्मर थप, मर्मत कार्य छिटो गरिनुपर्ने माग राखेका थिए । उद्योग वाणिज्य संघका प्रतिनिधिले नियमित विद्युत आपूर्तिको माग गर्दै विद्युत समस्याले उद्योग व्यवसाय प्रभावित भएको गुनासो गरेका छन ।बैठकले सबै सरोकारवालाबीच सहकार्य गर्दै विद्युत सेवामा देखिएका समस्या समाधान गर्न छुट्टै कार्यदल गठन गर्ने, समस्याको सूचीकृत विवरण तयार पार्ने, र छोटो तथा दीर्घकालीन योजनाहरू निर्माण गर्ने निर्णय गरेको छ।

Leave a Reply