सिमरा,सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणले सिमरा सेजमा ३० उद्योगलाई सञ्चालनको अनुमति दिएको छ ।

सेजका पाँच ब्लकमध्ये ‘ए ब्लक’ कोे ६८ प्लटमा दुई वर्षभित्र उद्योग सञ्चालन गर्ने शर्तमा अनुमति दिइएको प्राधिकरणले जनाएको हो । अनुमति प्राप्त ३० उद्योगले सिमरा सेजमा ७ अर्ब २५ करोडको लगानी गर्ने र साउनदेखि उद्योग स्थापना गर्ने प्राविधिक आनन्द भट्टले बताउनुभयो । उहाँका अनुसार ‘बी’ र ‘सी’ ब्लकको काम पनि चाँडै टुंगिने छ ।

प्राधिकरणले ‘ए’ ब्लकमा उद्योग स्थापनाका लागि गत फागुन १५ गते र वैशाख ७ गते प्रस्ताव माग गरेको थियो । सेजले ‘ए’ ब्लकमा प्रशासनिक भवनसँगै दुषित पानी प्रशोधन केन्द्र, आन्तरिक सडक पूर्वाधार, ढल, खानेपानी, बैंक, बीमा, हुलाक, भन्सार, पेट्रोल पम्प, धर्मकाटा, सुरक्षा, क्यान्टिन, र विद्युतीकरणका लागि चाहिने संरचना निर्माण गरिसकेको छ ।

उद्योग सञ्चालनका लागि चाहिने औजार, उपकरण र कच्चा पदार्थमा भन्सार छुटको व्यवस्था गरेको प्राधिकरणले २ वर्ष निर्यात गर्नुपर्ने छैन । तेस्रो वर्षदेखि २० प्रतिशत, चौथो वर्षमा ४० र पाँचौं वर्षदेखि कुल उत्पादनको ६० प्रतिशत तेस्रो मुलुकमा निर्यात गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।

राष्ट्रियरूपमा व्यापार घाटा कम गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षभित्र सञ्चालन गर्ने गरी शिलान्यास् गरेको सेजमा ५ वर्षपछि उद्योगले प्रवेश पाएको हो ।

Leave a Reply