निजगढ,जिल्ला विपद् व्यवस्थापन समिति बाराको आयोजना र निजगढ नगरपालिकाको सहकार्यमा शनिवार निजगढमा विपद्सम्बन्धी नमुना प्रदर्शनी आयोजना गरिएको छ ।निजगढ नगरपालिका वडा नम्बर ४ को नयाँवस्तिमा भएको सो प्रदर्शनीमा आगलागी, बाढी र डुवान जस्ता विपद्का घटनाबाट जोगिन र त्यसबाट हुनेसक्ने क्षति कम गर्ने उपायहरुको बारे सुरक्षाकर्मीहरुले प्रदर्शन गरेका थिए । विपद्मा परेकाहरुको उद्धार र विपदको बेला गरिने कार्यसम्बन्धि नमुना प्रदर्शन गरिएको हो ।समापन कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले प्रदर्शनीबाट विपद्बाट हुने क्षति न्युनीकरणको बारेमा महत्वपूर्ण ज्ञान र सीप प्राप्त भएको बताउनुभयो । उहाँले विपद एक्कासी नआउने र यस्तो बेला मानिसले संयमता, धैर्यता र शान्तिका साथ काम गर्नुपर्ने पनि बताउनुभयो । ‘मानिसको जीवनमा विपद आइलाग्ने कुरा स्वभाविक जस्तो हो, उहाँले भन्नुभयो, तर संयमता, धैर्यता र शान्ति कायम राखेर काम गर्नसकियो भने जस्तोसुकै विपद्मा पनि जोगिन सकिन्छ र क्षति पनि कम हुन्छ ।’ उहाँले निजगढ नगरपालिकामा कार्यक्रमको आयोजना गरेकोमा जिल्ला विपद् समितिलाई धन्यवाद पनि दिनुभएको थियो ।कार्यक्रममा समितिका अध्यक्ष एंवम बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले प्रदर्शनीले विपदमा परेका नागरिकको जीउधनको सुरक्षाको लागि ठुलो मद्दत पुग्ने बताउनभुयो । उहाँले समितिले जिल्लाका सबै पालिकाहमा विपद्सम्बन्धि अभ्यास र प्रदर्शन गर्ने र स्थानीय सरकारले पनि यसलाई महत्वका साथ संचालन गर्नुपर्ने बताउनुभयो ।‘स्थानीय तहले बजेटसहित कार्यक्रम बनाएर आफैले विपद व्यवस्थापनको काम गर्नुपर्छ, उहाँले भन्नुभयो, यसरी काम गर्नसकियो भने विपद्को सामना गर्न पनि सजिलो हुन्छ ।’प्रजिअ सापकोटाले केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लास्तरीय समिति क्रियाशील रहेको र समितिले विभिन्न कार्यहरु गर्दैआएको जानकारी दिनुभयो । उहाँले देशभरका ७५३ स्थानीय तहमा पालिका प्रमुख÷अध्यक्षको संयोजकत्वमा स्थानीयस्तरको समिति रहेको बताउदै बारा जिल्लामा पनि १६ वटै पालिकामा त्यस्तो समिति गठन भएको पनि सुनाउनुभयो । ‘समिति मात्रै गठन गरेर कुनै अर्थ छैन, उहाँले भन्नुभयो, अब पालिकाहरुले नै प्रभावकारी रुपमा विपद् व्यवस्थापन सम्बन्धि काम गर्न जरुरी छ ।’कार्यक्रममा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साह, उपप्रमुख चण्डिका उप्रेती, सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरीप्रसाद कलवार, परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री पटेल, करैयामाई गाउँपालिकाका अध्यक्ष यादव, गाउँपालिकका अध्यक्ष भुट्टोलगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र संचारकर्मी तथा स्थानीयको उपस्थिति रहेको थियो ।

















