पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को कतर्वा चोकको परिचय फेरिएको छ ।कतोर्वाको मुख्य चोकमा नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाको अद्र्धकदको शालिक अनावरणसंगै यो ठाउँको नामाकरण ‘देवकोटा चोक’ राखिएपछि परिचय फेरिएको हो ।लक्ष्मी पूजाका दिन विशेष कार्यक्रमको आयोजना गरी शालिक अनावरण गरिएको हो । वडा नम्बर १६ वडा कार्यालय ४ लाख रुपैंयाभन्दा बढी रकम खर्चेर महाकवि देवकोटाको शालिक स्थापना गरेको हो । ‘यसअघि यो ठाउँलाई कतर्वा चोक, नमुना चोक, बदाफर चोक भन्दै आएका थियौं, स्थानीय संचारकर्मी गणेशराज रिजालले भन्नुभयो, शालिक राखिएपछि यसको नाम देवकोटा चोक भएको छ ।’

बारा क्षेत्र नम्बर ३ की सांसद एवंम पूर्वमन्त्री ज्वालाकुमारी साहले शालिक अनावरण गर्नुभएको हो । वडा अध्यक्ष हरिदेव खरेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री साह, प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो ।महाकवि देवकोटाको शालिक अनावरणका अवसरमा आयोजित विशेष कार्यक्रममा विभिन्न सर्जक एवंम स्रष्ठाहरुले कविता वाचन गरेका थिए । सोही अवसरमा स्थानीय सर्जक अविनाश सापकोटाको गजल संग्रह ‘अग्राख’को लोकार्पण समेत गरिएको थियो ।
कार्यक्रममा प्रशंसा भट्टराई, निशिका बस्नेत, जेनिस उप्रेती, अञ्जली गुरुङ्ग लगायतका स्कुले बालबालिकादेखि चर्चित सर्जकहरुले महाकवि देवकोटाले नेपाली साहित्यमा गरेको योगदानको चर्चा गरेका थिए । उनीहरुले महाकवि देवकोटाको कृतिहरुको महिमासहितका रचना सुनाएका हुन ।

यस्तै थारु भाषाका साहित्यकार हृदयनारायण चौधरी, भोजपुरी साहित्यिक विकास मञ्चका महासचिव सुनिल कुमार, साहित्यकार रामप्रसाद अधिकारी, प्रदिप धनञ्जय, राजु अधिकारी, सुनिल गाउँले लगायतले आफ्ना रचना वाचन गरेका थिए ।कार्यक्रम स्थानीय साहित्यकार नवराज रिजालको सहजीकरणमा सम्पन्न भएको हो । देवकोटाको शालिक साहित्कार नवराज रिमाल अध्यक्ष र राजन रिमाल सचिव, शान्ता न्यौपाने कोषाध्यक्ष र पाण्डु सापकोटा, नवराज रिमाल, गिता उप्रेती तथा गायत्री रिमाल सदस्य रहेको समितिको अगुवाइमा निर्माण सम्पन्न भएको वडा अध्यक्ष हरिदेव खरेलले जानकारी दिनुभयो ।

Leave a Reply