वीरगञ्ज,हनुमान जयन्तीको शोभायात्राका क्रममा हिन्दुवादी युवाहरू पक्राउ परेपछि सुरु भएको तनाव वीरगञ्जमा बुधवार पनि यथावत रहेको छ । सुरक्षा चुनौतिलाई ध्यानमा राखेर बुधवार बिहानदेखि नै स्थानीय प्रशासान र तीन वटै सुरक्षा निकायका प्रमुखहरू निगरानीको लागि वीरगञ्जको सडकमा खटेका छन् ।प्रमुख जिल्ला अधिकारी गणेश रेग्मी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र र सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले बुधवार बिहान वीरगञ्जको मुख्य सडक क्षेत्रमा सुरक्षा अवस्था अवलोकन गरेका थिए ।
कुनै अप्रिय घटना हुन नपाओस भनेर सुरक्षा निगरानी बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पर्सा प्रहरीले पनि वीरगञ्जमा सुरक्षा सर्तकता थप कडा बनाएको जनाएको छ ।हिन्दुवादी युवाहरू पक्राउको विरोधमा वीरगञ्जको परवानीपुर, प्रतिमा चौक, नेशनल ट्रेडिङ, घण्टाघर नजिक, घडिर्अवा पोखरीलगायत स्थानहरूमा टायर बाल्दै प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले “हिन्दूमाथिको अन्याय बन्द गर”, “सबै सम्प्रदायमाथि समान व्यवहार गर” लगायतका नारा लगाउँदै प्रहरी प्रशासनप्रति असन्तुष्टि जनाएका थिए ।
प्रदर्शनकारीहरुले सडकमा टायर बालेका कारण केहीबेर यातायात सेवा अवरुद्ध भएको थियो ।यसैबीच वीरगञ्जमा मंगलवार पक्राउ परेका चार जनामाथि अनुसन्धान गर्न म्याद थप भएको छ ।वीरगञ्जमा निकालियो शोभा यात्रामा धार्मिक सद्भाव विथोल्ने शेख खुर्सेद, सलाउदिन मिया ठकुराइ, रवि सरार्फ र बल्जित सिंहलाई मंगलवार प्रहरीले पक्राउ गरेको थियो ।केही दिनअघि हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रामा उच्छृङ्खल गतिविधि गर्दै धार्मिक सद्भाव विथोलेको आरोपमा उनीहरु पक्राउ परेका थिए । जिल्ला अदालत पर्साले बुधवार उनीहरुमाथि अनुसन्धान गर्न ६ दिनको म्याद थप गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दुई जना विरुद्ध राज्य विरुद्धको कसुर र दुई जना विरुद्ध आपराधिक उपद्रव कसुरमा अनुसन्धानका लागि अदालतबाट म्याद थप भएको हो । प्रहरीले सात दिनको म्याद थप मागेको थियो ।
यसैबीच हिन्दुवादी संगठनले पक्राउ परेका आफ्ना दुई जनालाई छुटाउन प्रदर्शन गरेका छन् ।
सीसीटिभी फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडियो विश्लेषणको आधारमा उनीहरू पक्राउ परेका थिए ।
सद्भाव कायम राख्न मन्त्री गुप्ताको आग्रह
वीरगञ्ज,हनुमान जयन्ति अवसरमा वीरगञ्जमा निकालिएको शोभायात्राको क्रममा भएको झडप र त्यसपछि उत्पन्न तनावप्रति मन्त्री राजकुमार गुप्ताले पाँच दिनपछि सार्वजनिक रूपमा फेसबुकमार्फत वीरगञ्जबासीलाई शान्ति र सद्भाव कायम गर्न आग्रह गर्नुभएको छ ।धार्मिक, सांस्कृतिक तथा जातीय विविधताको सम्मान र भाइचारा प्रकट गर्नु मानवीय कर्तव्य भएको उल्लेख गर्दै मन्त्री गुप्ताले सो घटनाले सिर्जना गरेको तनावलाई साम्य पार्न सबै पक्षसँग संयम र सहकार्यको अपिल गर्नुभएको छ ।
वीरगञ्ज धार्मिक तथा औद्योगिक हिसाबले महत्व राख्ने सहर भएकाले यहाँको शान्ति र सद्भाव खलबलिनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै मन्त्री गुप्ताले सामाजिक सद्भाव कायम राख्न नागरिकहरूलाई पनि सचेत रहन आग्रह गरेका छन् ।
उहाँले साम्प्रदायिक विद्वेष फैलाउने र आपराधिक कार्यमा संलग्न जोसुकैलाई छानबिन गरी कानूनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई कडा निर्देशन दिइसकेको प्रेस सल्लाहकार कृष्णप्रसाद कुशवाहाले जानकारी दिनुभयो ।
साथै, घटनापछि दुवै समुदायबीच भएका संवाद र सर्वदलीय बैठकले तय गरेको पाँच बुँदे सहमतिअनुसार दोषीको पहिचान, अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाउन पनि मन्त्री गुप्ताले प्रशासनसँग आग्रह गरेको जनाइएको छ ।
संयमता अपनाउन मन्त्री यादवको अपील
वीरगञ्ज,पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद प्रदीप यादवले वीरगञ्जमा उत्पन्न तनाबपछि वीरगञ्जबासीसंग संयमता अपनाउन अपिल गर्नुभएको छ ।मन्त्री यादवले दुई समुदायबीच देखिएको तनावको पाँच दिन बितेपछि बुधवार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गर्नुभएको हो । सांसद यादवले वीरगञ्जको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सद्भावपूर्ण वातावरणलाई बचाइराख्न सबैलाई संयमित बन्न आग्रह गर्नुभएको हो । उहाँले वीरगञ्जलाई “साझा फुलवारी” को संज्ञा दिँदै यहाँको शान्ति, सद्भाव र मेलमिलाप सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ ।
यादवले हाल देखिएको तनावपूर्ण अवस्थालाई संवादमार्फत समाधान गर्न स्थानीय प्रशासन र प्रहरीसँग निरन्तर सम्पर्कमा रहेको र विभिन्न समुदायका अगुवासँग पनि समन्वय र सल्लाह जारी रहेको जनाउनुभएको छ ।उहाँले शान्ति सुरक्षामा खलल पु¥याउने, उत्तेजक अभिव्यक्ति दिने, सम्पत्ति तोडफोड गर्ने तथा आगजनी गर्ने जोकोहीलाई कानुनअनुसार कारबाही हुनुपर्नेमा जोड दिनुभएको छ ।सांसद यादवले प्रचारबाजीभन्दा नेपथ्यबाट गम्भीर प्रयास र समन्वयमार्फत शान्ति स्थापना गर्नुपर्ने धारणा राख्दै वीरगञ्ज चाँडै आफ्नो पुरानै लयमा फर्किने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
वीरगन्जमा सामाजिक सद्भाव कायम गर्न मुख्यमन्त्री सिंहको आह्वान
वीरगञ्ज,मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले हनुमान जयन्तीका अवसरमा भएको द्वन्द्धका कारण उत्पन्न भएको विषम परिस्थितिमा सामाजिक सद्भाव कायम गर्न आह्वान गर्नुभएको छ ।हनुमान जयन्तीका अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा तनाव सृजना गरी हिंसा भड्काउन भएका दुष्प्रयास र त्यसपछि विकसित घटनाक्रमका विषयमा सारोकार भएकासँग छलफल गरी जनजीवनलाई सहज तुल्याउन सम्बद्ध प्रशासनिक तथा प्रहरी अधिकारीहरूको निरन्तर सम्पर्क भइरहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले बुधवार प्रेस विज्ञप्ति जारी गरी जानकारी दिनुभयो ।
समाजका सबै धार्मिक, सांस्कृतिक तथा जातीय समुदायबीच एकअर्काप्रति सम्मान र भाइचाराबाट मात्र शान्ति एवं सहिष्णुता कायम हुनसक्ने भएकाले साम्प्रदायमा अशान्ति, हिंसा फैलाउने कार्यमा संलग्न जोसुकैलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देश गर्नुभएको छ”, प्रेस विज्ञप्तिमा भनिएको छ, “वीरगन्जमा सामाजिक सद्भाव र सहिष्णुता सुनिश्चित गर्न राजनीतिक दल, नागरिक समाज र प्रहरी प्रशासनलगायतबाट भएका गम्भीर र अर्थपूर्ण प्रयासको सराहना गर्दछु ।”मुख्यमन्त्री सिंहलाई उद्धृत गरेर जारी प्रेस विज्ञप्तिमा देशको औद्योगिक नगरी वीरगञ्ज धार्मिक तथा सांस्कृतिक विविधताको दृष्टिले अतुल्य सहर रहेको र यो मधेसको शक्ति भएकाले यसलाई कुनै पनि बहानामा भङ्ग गर्ने कार्य दुःखद्, चिन्ताजनक र दुर्भाग्यपूर्ण भनिएको छ ।



















