पुष्पराज खतिवडा

मनहर्वा,लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जिल्लाको प्रसौनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको लागि पुनः भोलाप्रसाद गुप्ता र गीता साहलाई अघि सारेको छ । दुबैजना यतिबेला चुनावी मैदानमा व्यस्त बनेका छन् ।

पार्टीले विगत वर्षहरुमा गरेको राम्रा कामको मुल्याङ्कन गर्दै पुनः उमेदवार बनाएको उनीहरुको भनाइ छ । यस अवधिमा प्रसौनी गाउँपालिकाले धेरै महत्वपूर्ण र दिर्घकालिन रुपमा फाईदा हुने काम गरेको छ । कतियप कामको स्वामित्व प्रदेश सरकारले ग्रहण समेत गरेको छ । त्यस्ता सृजनात्मक र जनहितका योजनाको नेतृत्व गरेको अध्यक्ष पदका उम्मेदवार गुप्ताले बताउनुभयो ।

मेरो नेतृत्वमा रहेको प्रसौनी गाउँपालिकाले सुरु गरेको छोरी शिक्षा र सुरक्षा कार्यक्रम आज मधेश प्रदेशको कार्यक्रम भएको छ । “बेटी बढाउ बेटी बचाउ” जुन यो प्रदेशकै लोकप्रिय र महत्वपूर्ण कार्यक्रम पनि हो ।

यो कार्यक्रम अन्तरगत प्रदेशका हजारौं छोरीहरुले सुविधा पाइरहेका छन् । यसै कार्यक्रम अन्तरगर्त सरकारी विद्यालयमा पढ्ने विपन्न परिवारका छोरीहरुलाई साईकल प्रदान गर्ने कार्यक्रमको सुरुवात पनि पर्सौनी गाउँपालिकाबाट नै सुरु गरेको गुप्ताले सुनाउनुभयो ।

मातृ सुरक्षा कार्यक्रम अन्तर्गत सरकारले निर्धारण गरेको सुत्केरी खर्चमा पालिकाबाट समेत थपेर रकम प्रदान गर्ने गर्दै आएको उहाँले बताउनुभयो । नवजात शिशुका लागि न्यानो कपडा, साबुन, सरफ र खाद्यान्न प्रदान गर्ने कार्यक्रमको सुरुवात गरेर सयौं आमा र बच्चाका हितमा काम गरेको गुप्ताको दाबी छ ।

गाउँपालिकाले केही समय अघिबाट छोरी सगुन कार्यक्रम पनि संचालनमा ल्याएको छ । सो कार्यक्रम अन्तरगत बिस वर्ष उमेर पुगेर विवाह गरेर जाने छोरीलाई सगुन स्वरुप ५१ हजार नगद प्रदान गर्ने गरिएको छ । यो पनि पर्सौनी गापाले संचालनमा ल्याएको अर्को महात्वपूर्ण र लोकप्रिय कार्यक्रम हो । त्यसैगरी अर्को महत्वपूर्ण कार्यक्रमका रुपमा प्रसौनीमा रहेको बेगाँ साह माध्यमिक विद्यालयलाई जिल्लाकै पहिलो बहुप्राविधिक शिक्षालयका रुपमा स्थापना गरिएको छ । ‘यसबाट प्रसौनी र आसपासका हजारौं बालबालिकाले सहजरुपमा प्राविधिक शिक्षा लिन सक्ने वातावरण सृजना भएको छ, पूर्व गाउँपालिका अध्यक्ष गुप्ताले सुनाउनुभयो ।

यस्तै प्रसौनी गाउँपालिका भित्रका धेरै सडकहरुको स्तरउन्नति भइ पक्की भएका छन् । नाला निर्माण गरिएका छन् । पालिकामा वडा कार्यालय भवन निर्माण गरिएका छन् । यही कार्यकालमा जनता आवास कार्यक्रम अन्तरगत दलित तथा विपन्न परिवारका ६० वटा घर निर्माण गरिएका छन् ।

पशुपालक किसानहरुले उत्पादन गरेको दुधको बजारीकरणका लागि डेरी संचालनमा ल्याउने प्रयास भइरहेको पनि गुप्ताले बताउनुभयो । आगामी दिनमा कृषि तथा पशुपालका लागि आवश्यक सुविधालाई अझ सहज बनाउने प्रयास गरिने उहाँको भनाइ छ ।

पालिकाको स्वास्थ्य शिक्षा र कृषिको क्षेत्रमा काम गरेको र ती काम प्रयाप्त नभएको गुप्ताको भनाइ छ । सिमित श्रोत र साधनले एउटा गाउँपालिकाले गर्न सक्ने जति काम प्रभावकारी ढंगबाट ईमान्दारीपूर्वक काम गरेको उहाँको भनाइ छ ।

यसपटक पनि प्रसौनीबासीले अमुल्य मत दिएर बाँकी कार्यभार पुरा गर्ने मौका दिने निवर्तमान उपप्रमुख एंव सोही पदकी उम्मेदवार गीता साहले सुनाउनुभयो ।

Leave a Reply