निजगढ,अविरल वर्षका कारण भल पानीको बाढी पसरेर बुधवार प्रभावित बनेको निजगढको जनजीवन बिहीवार सामान्य बनेको छ ।
वर्ष रोकिएर बाढी र डुवान घटेपछि जनजीवन समान्य बन्दै गएको हो । अघिल्ला २ दिनदेखिको लगातार वर्षपछि आएको बाढी पसेर ईलाका प्रहरी कार्यालय निजगढको मेससहित पुर्वपश्चिम लोकमार्गको शहिद चोक क्षेत्र लगायत विभिन्न स्थानका घर, पसल र कार्यालयहरु डुवानमा परेका थिए ।
भल पानीको बाढीले निकास नपाउदा घर तथा पसल र कार्यालयहरु डुवानमा परेका हुन । बाढीले निजगढ नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ नम्बर वडाका दर्जनौं घर डुवानमा परेका थिए । बाढीका कारण शहिद चोकबाट राजमार्गको पूर्वतर्फको लच्कासम्मको क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको थियो । बाढी पसेर ईलाका प्रहरी कार्यालय निजगढको मेसमा रहेको भाडाकुडा बगाएको प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिनुभयो । बाढी र डुवानले मेस संचालन गर्न नसकिएपछि प्रहरी कार्यालयका प्रहरीहरुलाई हिजो निजगढ बजारको एक होटलमा लगेर खाना खुवाइएको निरीक्षक ओलीले जानकारी दिनुभयो । कार्यालयको मुल गेटबाटै बाढी पस्न थालेपछि प्रहरीहरुले बालुवाको बोराको बाँध बनाएर नियन्त्रण गरेका थिए । तर भवनको पछाडि पट्टीबाट पसेको बाढीले चौकीको मेस डुवानमा पारेको र सामग्रीहरु बगाएको हो ।
निजगढ नगरपालिकका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर लामा, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालसहितको टोलीले पूर्वपश्चिम लोकमार्गको प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेको थियो ।