राजकुमार यादव

मौलापुर,मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहले नगरको विद्यालयहरुमा शिक्षाको गुणस्तर खस्केकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।

मौलापुर नगर क्षेत्रमा रहेका विद्यालयहरुको अनुगमन निरीक्षणको क्रममा बिहिवार अधारभूत विद्यालय मर्यादपुर, लक्ष्मिनिया मावि मौलापुर र श्रीजनता माध्यमिक विद्यालय सोनरनियाँमा पुग्नुभएकी नगरप्रमुख साहले विद्यार्थीहरुको कक्षा कोठाको अवलोकन पछि यस्तो चिन्ता व्यक्त गर्नुभएको हो ।

कक्षा अवलोकनको क्रममा विद्यार्थीहरुको शिक्षण सीकाइ एकदमै कमजोर रहेको पाइएको उहाँले जानकारी दिनुभयो । कक्षा ५ ,६ र ७ का विद्यार्थीलाई शुद्ध नेपाली विषयको किताब पढ्न नआएपछि नगरप्रमुख साहले विद्यालयका शिक्षकहरुसंग यसको जवाफ माग्नु भएको थियो । विद्यालयमा आएर तपाईहरुले गरेको कामको परिणाम नदेखिएको भन्दै नगरप्रमुख साहले शिक्षकहरुलाई ईमान्दारितापूर्वक नियमितरुपमा कक्षा संचालन गर्न र विद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाउन निर्देशन समेत दिनुभएको थियो ।

‘आकर्षक र ठुला भवनले मात्र विद्यालय राम्रो बन्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘विद्यार्थीहरुको पढाइ राम्रो हुनुप¥यो ।’ विद्यार्थीको पढाइ राम्रो नभएसम्म शिक्षकले गरेको मेहनतको परिणाम नदेखिने उहाँको भनाइ छ । उहाँले विद्यार्थीहरुको पढाइको गुणस्तरमा ध्यान दिन शिक्षकहरुलाई निर्देशन दिनुभएको थियो ।

सो अवसरमा मौलापुरका नगरपालिकाका उपप्रमुख नागेन्द्रप्रसाद यादवले भवनको निर्माण कार्य सम्पन्न गराएर एक महिनाभित्र विद्यालय भवनको उद्धाटन गर्ने तयारी गरिएको जानकारी दिनुभयो । नवनिर्मित विद्यालय भवनमा पंखा, विजुली, शौचालयको कमी रहेकोले भवन निर्माण गर्ने ठेकेदारलाई यथाशिघ्र काम सम्पन्न गर्न निर्देशन समेत दिइएको उहाँले जानकारी दिनुभयो । मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले भुइतल्ला ढलानमा भएको त्रुटीलाई सच्याउन ठेकेदारलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

कमल कन्ट्रक्सनले एक करोड १३ लाखमा एक तल्ले भवन र साहु कन्ट्रक्शनले २ करोड ५२ लाखको लागतमा २ तल्ले विद्यालय भवनको निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

नगर शिक्षा समितिको निर्णय अनुसार दुई वटा प्राविलाई समायोजन गरी मावि मर्यादपुर स्थापना भएपछि नयाँ भवनको निर्माण हुन लागेको उहाँले जानकारी दिनुभयो । भवन निर्माण कार्य अन्तिम चरणमा रहेको र यसलाई छिट्टै पुरा गरेर उद्धाटन गरिने र सोही भवनमा पठन पाठन संचालनमा ल्याइने उहाँले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा मौलापुर नगरपालिका १ मर्यादपुरका वडाध्यक्ष जयनाथप्रसाद कुशवाहा, कार्यपालिका सदस्य वैधनाथप्रसाद जैसवाल, शारदा अर्याल (सुमन), स्थानीय संचारकर्मी राजकुमार यादव, राजु श्रीवास्तव लगायतको उपस्थिति थियो ।

Leave a Reply