नरेश गुप्ता,
बरियारपुर,महागढीमाई नगरपालिकामा कांग्रेशबाट नवनिर्वाचित नगरप्रमुख उपेन्द्रप्रसाद यादवमाथि सांघातिक आक्रमण भएको छ । आक्रमणमा मेयर यादव सवार सवारीसाधन तोडफोड हुनुको साथै प्रहरीसहित १७ जना घाइते भएका छन ।
नगर प्रमुख यादवको बिजय जुलुस गढीमाई मन्दिर परिक्रमा गरि महागढीमाई नपा २ ईनर्वाटोलमा पुग्दा स्थानीयहरुले जुलुसमाथि ढुङ्गामुङ्गा गरेका थिए । स्थानीय तहको निर्वाचनमा जसपा नेपालबाट नगर प्रमुखमा प्रत्यासी रहनुभएका रामबाबु यादवले पराजित भएपछि कार्यकर्ताहरुले बिजय जुलुसमा ढुङ्गामुङ्गा गरेको नगर प्रमुख उपेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । ढुङ्गामुङ्गाबाट नगर प्रमुख चढेको गाडीको सिसा फुटेको र ढुङ्गा लागेर नगर प्रमुख यादव घाइते हुनुभएको हो ।
त्यसैगरी स्थानीयको ढुङ्गा प्रहारबाट प्रहरी र नगर प्रमुख यादवका समर्थक लगायत १७ जना घाइते भएका छन । विजय जुलुसमाथि ढुङ्गमुडा गर्नेमध्ये स्थानीय शम्भु यादव, नागा साह, अमरेन्द्र यादवलगायतका मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाही गर्न जिल्ला प्रहरी कार्यालय बारामा आइतवार नै उजुरी दिइएको नगर प्रमुख यादवले जानकारी दिनुभयो ।
सिम्रौनगढमा लोसपा र काँग्रेस कार्यकर्ताबीच झडप
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टी र निर्वाचनमा पराजित काँग्रेस कार्यकर्ताहरुबीच आइतवार झडप भएको छ ।
नगरपालिकामा निर्वाचित लोसपाका कार्यकर्ता र समर्थकहरुले विजय उत्सव मनाउन निकालेको जुलुशले नगर परिक्रमा गर्ने क्रममा लोसपा र काँग्रेसका समर्थकहरु बीच झडप भएको हो ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर १० टेंटामा भएको झडपमा दुबै पक्षका गरि ७ जना घाइते भएका छन् । कांग्रेश कार्यकर्ताहरुले विजय जुलुशमा प्रयोग गरिएका ५ वटा मोटरसाइकल र एउटा जिपमा तोडफोड समेत भएको छ । र्घाते हुनेहरुमा स्थानीय सरोजकुमार यादव, सुनिलकुमार यादव, कृष्णकुमार यादव, मिथुन पासवान, राजन साह लगायतका रहेका छन् ।
घाइतेहरुको सिम्रौनगढ नगर अस्पताल सिम्रौनगढ र कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । नगरपालिकाको मतगणना सकिएपछि लोसपाबाट विजयी मेयर किशोरीप्रसाद कलवार र उपमेयर नजमु शेहरको विजय जुलुश टेंटा गाँउमा पुगेपछि जुलूसमा सहभागीहरुले बेलुनभित्र मोबिल भरेर स्थानीयमाथि प्रहार गरेको भन्दै काँग्रेस समर्थकहरुले विवाद गरेका थिए । विवाद बढ्दै गएपछि दुबै पक्षबीच झडप भएको स्थानीय रामेश्वर मेहताले बताउनु भयो ।
सिम्रौनगढ नगरपालिकाको मेयर पदमा काँग्रेसका उम्मेदवार विजयशंकर यादवलाई पराजित गर्दै लोसपाका कलवार निर्वाचित हुनुभएको छ ।