खासगरी दक्षिण एशियामा आफ्नो उपस्थिति अझै बलियो बनाउने योजनामा रहेको अमेरिकाले नेपालमा पछिल्लो समय स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को प्रस्ताव गरेको छ । यसका लागि अमेरिकाले नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाबाट निकै अपेक्षा गरेको प्रष्ट देखिन्छ । नेपालमा अमेरिकी सैनिक क्याम्प राख्ने योजनाका साथ प्रस्तावित एसपीपीले एमसीसीको स्मरण गराउँछ नै ।
एमसीसीको नाममा अमेरिकी सेना नेपाल भित्रिने हो कि भनेर चिन्तित नेपालीले त्यो परियोजना शुद्ध आर्थिक विकासका लागि हो भन्ने बुझेपछि स्वीकृति जनाए । तर एसपीपीले त प्रष्ट शब्दमै सेना भित्र्याउने कुरा गर्दछ । यतिखेर अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा छ । यसमा अब खासै विवाद छैन । तर, अमेरिकाले नेपाल सरकारलाई पठाएको एसपीपीको मस्यौदा हेर्दा नेपाललाई करेन्ट लागे सरह भएको छ ।
उक्त कार्यक्रम लागू गर्ने विषयमा नेपाल भ्रमण गरेर भर्खरै फर्किएका अमेरिकी जनरल चाल्स ए फ्लिनले नेपालमा अमेरिकी सैनिक राख्ने आशय बताएपछि अहिले सत्तारुढ दलभित्र समेत आशंकायुक्त तरंग दौडिएको छ ।















