गोकुल घोरसाइने
साउन, २९ निजगढ– कमलादी सुन काण्डका मुख्य नाइके एंव जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी बिहिबार बाराको निजगढ बजारबाट पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले इलाका प्रहरी कार्यालय निजगढको सहयोगमा अन्सारीलाई पुर्वपश्चिम राजमार्गको निजगढस्थित बुद्धचोक नजिकबाट बिहान अन्दाजी ९.१५ बजे पक्राउ गरेको हो ।
मोटरसाइकलमा पछाडि बसेर पुर्वतर्फबाट आउदै गर्दा पिछा गर्दै आएको प्रहरीले निजगढमा रोकेर हातपात गर्न थालेपछि अन्सारीले उल्टै पेस्तोल देखाएर भाग्ने प्रयास गरेका थिए । पेस्तोल देखाएर भाग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय निजगढबाट पुगेको टोलीको मद्दतमा अन्सारी पक्राउ परेको स्थानीयले बताएका छन ।
‘प्रहरीलाई तर्साएर भागिसकेको थियो, प्रतक्षदर्शी स्थानीय श्याम साहले भन्नुभयो, तत्काल थप टोली नपुगेको भए उम्कन पनि सक्थ्यो ।’ मोटरसाइकल चालक भने भाग्न सफल भएको इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक विकास थपलियाले बताउनुभयो । पर्सा टोली र स्थानीय प्रहरीबीच समन्वय अभावमा चालक फरार भएको उहाँले बताउनुभयो ।
बाराको साविक प्रस्टोका गाविस ४ निवासी अन्सारी २८ असार २०६८ सालमा बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँको मुख्य कारोबारी भएको बताइएको छ । घटनापछि फरार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७२ जेठमा पक्राउ गरेको थियो ।
पछिल्लो पटक ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित समातिएका युनुस अन्सारीसँग पनि उनको निकट सम्बन्ध छ । युनुसपछि नेपालमा नक्कली भारतीय नोट कारोबार गर्ने व्यक्ति उनी थिए । प्रारम्भमा युनुसकै समूहमा भए पनि पछिल्लो पटक उनले आफ्नै समूह सञ्चालन गरिरहेका थिए ।
अन्सारी पाकिस्तान र भारत दुवै मुलुकका लागि सूचना दिने व्यक्ति पनि हुन् । उनलाई प्रहरी अधिकृतहरु ‘डबल एजेन्ट’का रुपमा चिन्छन् । अन्सारीले हरेक अपराधमा फरक÷फरक नाम बताएर संलग्न हुने गरेका छन् । अन्सारी पछिल्लो १५ किलो सुनचाँदी प्रकरणमा मुछिएका छन् ।
प्रकरणमा उनको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडी उप्रयोग भएको थियो । काठमाडौंको कमलपोखरीबाट अन्सारीको गाडीलाई प्रहरीले पछ्याएपछि सुन चाँदी भएको झोला फ्याँकेर स्कर्पियो भागेको थियो । त्यसयता महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुले उनको खोजीलाई तीब्र बनाउदै आएको थियो ।