धनुषा – मंसिर ४ गते सम्पन्न चुनावमा मधेस प्रदेशमा प्रतिनिधि सभा सदस्यतर्फ २ सय २४ जना डमी उम्मेदवार रहेको देखिएको छ ।

मधेस प्रदेशका ८ वटै जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ डमी उम्मेदवारको सङ्ख्या २ सय २४ रहेको तथ्याङ्कमा देखिएको छ । ५० भन्दा कम मत ल्याउने उम्मेदवारलाई डमी उम्मेदवारको सूचीमा राखिएको छ । डमी उम्मेदवारहरु मध्येका यस्ता पनि छन् जसले आफ्नो मत आफैँ पनि हालेका छैनन् । मधेसमा प्रतिनिधि सभातर्फ ५ सय ९१ जनाले उम्मेदवारी दिएका थिए ।

धनुषामा ६६, महोत्तरीमा १७, सर्लाहीमा २३, सप्तरीमा १९, सिरहामा ३०, रौतहटमा २५, बारामा २६ र पर्सामा १८ जना स्वतन्त्रसहित दलका उम्मेदवार जसले ५० वटा पनि मत ल्याउन नसकेको निर्वाचन आयोगले जनाएको छ ।

एक मत पनि ल्याउन नसकेका उम्मेदवारको सङ्ख्या पनि अत्यधिक रहेको छ । मधेस प्रदेशमा ५४ जना यस्ता उम्मेदवार छन् जसलाई एकमत पनि परेको छैन । यसमा स्वतन्त्र बाहेक आधा दर्जनभन्दा बढी दलका उम्मेदवारहरु पनि रहेका छन् । शून्य मत ल्याउने सबभन्दा बढी धनुषाको क्षेत्र नम्बर १ मा रहेका छन्, यहाँ १५ जना यस्ता उम्मेदवार छन् जसले शून्य मत ल्याएका छन् ।

सर्लाहीको क्षेत्र नम्बर १ मा ८ जना, २ मा ६ जना, रौतहटको १ मा ८ जना, बाराको १ मा ५ जना, २ मा १ जना र ४ मा ११ जना उम्मेदवारले शून्य मत ल्याएका छन् । समानुपातिक भोट प्राप्त गर्न अरु दलका उम्मेदवारलाई समर्थन गर्ने उद्देश्यले पनि ती दलहरुले डमी उम्मेदवार खडा गरेका थिए । जसका उम्मेदवार आफ्नो मत आफैँलाई पनि दिएका छैनन् ।

शून्य मत ल्याउने दलहरुमा सर्लाहीको १ मा नेमकिपाको रामाकान्त कापर, रौतहटको १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मिस्टर सूर्यदेवप्रसाद कोइराला, बाराको १ मा नेपाल लोकतान्त्रिक पार्टीका मोजहर हुसैन मन्सुर, २ मा नेपालका लागि नेपाली पार्टीका शेखअली आलम, ४ मा जनता प्रगतिशील पार्टीका श्रीनिवास महतो, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोहन कुमारसहितका दलका उम्मेदवारहरुले आफ्नो मत पनि आफूलाई नहाली शून्य मत ल्याएका छन् ।

चुनावी मैदानमा उत्रेकाहरुमध्ये धेरै यस्ता उम्मेदवारहरु पनि छन् जसले एक सय मत पनि कटाउन सकेका छैनन् । मतगणना परिणाम अनुसार सप्तरीमा २६, सिरहामा ३३, धनुषामा ७३, महोत्तरीमा २९, सर्लाहीमा २७, रौतहटमा ३८, बारामा २८ र पर्सामा २६ जना स्वतन्त्रसहित दलका उम्मेदवारहरुले एक मत कटाउन सकेका छैनन् ।

आयोगको तथ्याङ्क अनुसार सप्तरीको क्षेत्रमा १ मा ९, २ मा ७, ३ मा ७ र ४ मा ३ जनाले उम्मेदवार एकसय पनि मत ल्याउन सकेका छैनन् । सिरहाको १ मा १२, २ मा १३, ३ मा १० र ४ मा ३, धनुषाको १ मा २०, २ मा ८, ३ मा २५, ४ मा २० जनाले सय मत कटाउन सकेका छैनन् ।

त्यस्तै महोत्तरीको १ मा ५, २ मा ५, ३ मा १०, ४ मा ९, सर्लाहीको १ र २ मा ८÷८ जना, ३ मा ३, ४ मा ८ जना, रौतहटको १ मा १२, २ मा ८, ३ मा ११, ४ मा ७, बाराको १ मा ९, २ मा ६, ३ मा २, ४ मा ११ र पर्साको १ मा १३, २ मा ४, ३ मा ५, ४ मा ४ जनाले एकसय मत पनि ल्याउन सकेका छैनन् ।

यसमा स्वतन्त्र उम्मेदवार बाहेक नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टी, पिछडावर्ग निषाद दलित जनजाति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी, मंगोल नेशनल अर्गनाइजेशन पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, नेपालका लागि नेपाली पार्टी, जनता प्रगतिशील पार्टी र बहुजन एकता पार्टीसहित एक दर्जनभन्दा बढी पार्टी रहेका छन् ।

Leave a Reply