नरेश गुप्ता
बरियारपुर,प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर– ९ का ७२ वर्षीय वृद्ध फुल महमद मियाँ धुनियाको हत्या अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।
स्थानीय ३१ वर्षीय बजरंगी साह तुरहा पक्राउ परेका हुन् । मृतक फुलमहम्मद धुनियाको मोबाइल सेट सहित काठमाण्डौंबाट पक्राउ परेका उनीविरुद्ध बारा जिल्ला अदालतमा ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
फुल महमद आँप बगैचास्थित फुसको छाप्रोमा बस्दै आएका थिए । जेठ २७ गते दिउँसो ३ बजे बाहिरबाट ढोकामा ताल्चा लगाएर घरको कोठाभित्र रहेको अवस्थामा उनको शव फेला परेको थियो ।
शव देख्ने वित्तिकै प्रहरीले कर्तव्य गरी मारेको आशंकामा अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक राजेश थापाले शव भेटिएको घरको ढोकामा बाहिरबाट ताल्चा लगाइएको र शरीरका विभिन्न भागमा काटेको घाउ चोट देखिएकोले प्रहरीले त्यतिबेला नै कर्तव्य गरी हत्या भएको आशंका गरेको जानकारी दिनुभयो ।