नेपालको विकास निर्माणको इतिहासमा लामो समयदेखि एउटा तितो यथार्थ रहँदै आएको छ— आयोजनाहरू सुरु हुने तर समयमै नसकिने । तर, हालै काठमाडौं–तराई÷मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत आयोजनाकै सबैभन्दा लामो (३.४८६ किमि) धेद्रे–महादेवटार सुरुङमार्गको बायाँतर्फको ट्युब सफलतापूर्वक ‘ब्रेक थ्रु’ (छिचोलिएको) समाचारले देशमा विकासको नयाँ आशा र उत्साह सञ्चार गरेको छ ।
जटिल भौगोलिक अवस्था र अनेकन् प्राविधिक चुनौतीका बावजुद नेपाली सेनाको व्यवस्थापन तथा चिनियाँ निर्माण कम्पनीको संयुक्त प्रयासमा हासिल भएको यो सफलता नेपाली पूर्वाधार विकासका लागि एक ऐतिहासिक कोसेढुङ्गा हो ।
राजधानी काठमाडौंलाई तराई–मधेससँग द्रुत रूपमा जोड्ने यो फास्ट ट्र्याक केवल एउटा सडक मात्र होइन, यो नेपालको आर्थिक कायापलट गर्ने ’लाइफलाइन’ (जीवनरेखा) हो । यसअघि नै धेद्रे र लेनडाँडाका सुरुङमार्गहरू छेडिइसकेको पृष्ठभूमिमा यो सबैभन्दा लामो सुरुङमार्गको ब्रेक थ्रु हुनुले आयोजनाको गति सही दिशामा अघि बढिरहेको पुष्टि गर्छ ।
यो सफलताले के देखाउँछ भने, यदि दृढ इच्छाशक्ति, सही व्यवस्थापन र आधुनिक प्रविधिको कुशल प्रयोग गर्ने हो भने नेपाली माटोमा पनि ठूला र जटिल सुरुङमार्ग निर्माण सम्भव छ।यस सुरुङमार्गको पूर्णतासँगै अब काठमाडौं र तराईबीचको यात्रा दुरी मात्र छोटिने छैन, यसले देशको इन्धन खपत र सवारी साधनको सञ्चालन खर्चमा समेत ठूलो कटौती गर्नेछ ।
व्यापारिक लागत घट्दा आन्तरिक उत्पादनले बजार पाउनेछ भने आयात–निर्यात प्रक्रिया थप सहज बन्नेछ । यस अर्थमा यो सुरुङमार्ग केवल पहाड प्वाल पार्ने काम मात्र होइन, यसले तराईको अर्थतन्त्रलाई राजधानीको बजारसँग र समग्र देशको आर्थिक वृद्धिलाई नयाँ उचाइसँग जोड्ने काम गरेको छ ।
तर, यो उत्साहजनक प्रगतिका बीच समग्र आयोजनाको भौतिक प्रगति करिब ४९.२५ प्रतिशत मात्र रहनुले यो आयोजनाको सफलताप्रति अझै पनि पूर्णरुपमा उत्साही हुने अवस्था छैन । यद्यपि आयोजनाको सबैभन्दा लामो र जटिल मानिएको यो सुरुङमार्गमा मिलेको सफलतालाई ऊर्जाको रूपमा लिँदै अन्य जटिल खण्डहरू, विशेष गरी अग्ला र आधुनिक पुलहरूको निर्माण तथा खोकना क्षेत्रको जग्गा मुआब्जा विवाद जस्ता अल्झिएका विषयहरूलाई तत्काल टुङ्ग्याउनु आवश्यक छ ।
नेपाली सेनाले पाइरहेको यो प्राविधिक अनुभवले आगामी दिनमा देशका अन्य सुरुङमार्ग र ठूला पूर्वाधार आयोजना आफ्नै जनशक्तिबाट निर्माण गर्न सक्ने आत्मविश्वास समेत बढाएको छ ।














