नरेश गुप्ता

बरियारपुर,प्रभावकारी सेवा उपलब्ध गराउन थालेपछि प्रादेशिक अस्पताल कलैयामा बिरामीको चाँप दिनप्रतिदिन बढ्दै गएको छ ।

प्रादेशिक अस्पताल कलैयाले आईसियु सेवासहित १० बेडको ओपिडि सेवा, आकस्मिक तथा प्रसुति सेवालगायतको सेवा उपलब्ध गराउदै आएको छ । अस्पतालले प्रभावकारी सुविधा दिन थालेपछि अस्पतालमा बिरामीहरुको चाँप बढदै गएको हो ।

प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट गौरव महतोको अनुसार आईसियु सेवा, आकस्मिक सेवा, प्रसुति सेवासहित अहिले ७७ बेडसम्मको सुविधा बिरामीलाई उपलब्ध गराइदै आएको जानकारी दिनुभयो । अहिले गर्मीयाममा सर्पदंश, झाडापखाला र ज्वरोका रोगी बढी आउने गरेको र उनीहरुलाई आकस्मिक कक्षमा राखेर उपचार गरिने गरिएको जानकारी दिनुभयो ।

प्रादेशिक अस्पताल कलैयाले दक्ष चिकित्सकसहितको ओपिडि सेवामा विशेषज्ञ डाक्टरबाट उपचार सेवा शुरु गरेपछि बिरामीको चाँप दैनिकी बढेको मेसु महतोले बताउनुभयो । अस्पतालले उपचार सेवासहित कलैयामा २४ घण्टे फार्मेसी सेवा लगायत अन्य चेकजाँच सेवा पनि उपलब्ध गराउदै आएको छ ।

सर्पले टोकेपछि आकस्मिक कक्षमा भर्ना भएर उपचार गराइरहेकी महागढीमाई नगरपालिका वडा नम्बर ९ निवासी सुभद्रा दासले अस्पतालबाट आफूले प्रभावकारी सेवा प्राप्त गरिरहेको बताउनुभयो । सर्पले टोकेपछि उहाँलाई तत्कालै उपचारको लागि कलैयामा ल्याइएको थियो । हाल उहाँको अवस्थामा सुधार आएको छ ।

अस्पतालभित्र पार्किङको व्यवस्थापन, क्यान्टिनको व्यवस्थापन, कुरुवाहरु बस्ने कोठा, खानेपानी लगायत भौतिक पुर्वाधारको अभाव रहेकोमा त्यसको सुधारको लागि कलैया उपमहानगरपालिका, मधेस प्रदेश र संघीय सरकार लगायत सरोकारवाला निकायहरुले ध्यान दिन जरुरी रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here