बाराको निजगढ क्षेत्रमा करिब डेढ दशक अगाडि निर्माण गर्ने भनी प्रचार गरिएको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा अहिले झनै पेचिलो बन्दै गइरहेको छ । सरकारले विमानस्थल बनाउने तयारी गरिरहेकै अवस्थामा सर्वोच्च अदालतले बिमानस्थल निर्माणमा रोक लगाएपछि यो विषय झनै पेचिलो बन्दै गइरहेको हो । खासगरी बाराको निजगढ क्षेत्रका स्थानीयहरु भने सर्वोच्चको फैसलापछि निरास भएका छन् र आन्दोलित हुदै आएका छन ।
केही समय अगाडि वीरगन्ज आएका अर्थमन्त्री जनार्दन शर्माले पनि निजगढ विमानस्थल बनाउनका लागि आफूले सहयोग गर्ने बताएका थिए । त्यसो त सरकारले विमानस्थलका लागि आगामी आर्थिक बर्षको बजेटमा समेत रकम राख्ने कुरा गरिसकेको छ । निजगढ क्षेत्रका स्थानीयहरुले विमानस्थल निर्माणको माग गर्दै नेपालका शीर्ष नेताहरुलाई भेट्न काठमाण्डौंमा दौडधूप गरिरहेका छन् ।
उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा सहित लगभग सबै शीर्ष नेताहरुलाई भेटेका छन् । भेटमा उनीहरुले विमानस्थलको कुरा उठाएका छन् । विमानस्थल निर्माणको सवालमा सर्वोच्चले खडा गरेको व्यवधानका विषयमा पनि उनीहरुले कुरा उठाएका छन् । भेटमा प्रधानमन्त्री लगायत सबै दलका शीर्ष नेताले विमानस्थल बनाउनुपर्छ भनेको सुनिएको पनि छ । तर बोली र व्यवहारमा एकरुपता नभएका नेपालका नेताहरुको भनाइमा विश्वास गरिहाल्ने अवस्था भने छैन । त्यसैगरी नेपालको विकासको सन्दर्भमा ‘गेम चन्जर’ हुने भनिएको यो योजना पूरा हुन नदिन कतै नेपालको संवृद्धि नचाहने देशी÷विदेशी शक्तिको ‘सेटिङ्ग’ पो छ कि भन्ने आशंका पनि उत्पन्न भएको छ ।यस्ता ठूला आयोजना सम्पन्न गर्ने क्रममा विश्वभरि नै राष्ट्रहरुले व्यवधान पनि बेहोर्ने गरेका छन । तर मुख्य कुरा देशको बागडोर सम्हाल्ने नेतृत्व तहको आत्माविश्वास हो । यदि नेपालका नेताहरुमा पनि यो विमानस्थल निर्माण गरेरै छाडने आत्माविश्व छ भने जस्तोसुकै षडयन्त्र पनि निस्तेज हुनेछ ।
















