विराटनगरको फिलचोकस्थित एक घरबाट फ्रिज चोरी गरी भाग्ने क्रममा गेटमा अड्किएका एक व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ। गेटमाथि रहेको तीखो फलामे किलामा अड्किएपछि उनी रातभर त्यही अवस्थामा अलपत्र परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चोरीको प्रयास गर्ने व्यक्ति सुनसरीको दुहबीमा बस्दै आएका विकास झा हुन्। सामान डेलिभरी गर्ने कम्पनी ‘उपया’को कार्यालय भवन राति खाली रहेको समयमा उनी भित्र प्रवेश गरेका थिए। उनी कति बजे भवनमा छिरेका थिए भन्ने खुलेको छैन।
झाले भवनभित्रबाट फ्रिज एक्लै बोकेर गेटसम्म ल्याएका थिए। गेटमाथिबाट फ्रिज कटाएर भाग्न खोज्दा उनको लुगा फलामे किलामा अड्किएको थियो। त्यसपछि उनी गेटबाट ओर्लन नसकी रातभर त्यहीँ फसेका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख कविद कटुवालका अनुसार बिहान उज्यालो भएपछि बाटो हिँड्ने स्थानीयले उनलाई देखेर प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि पुगेको प्रहरीले उनलाई उद्धार गरेको हो।
प्रहरीका अनुसार घाइते अवस्थामा रहेका झा लागू पदार्थको नशामा समेत थिए। उनलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको छ। उपचारपछि घटनाबारे थप अनुसन्धान अघि बढाइने प्रहरी प्रमुख कटुवालले बताएका छन्।

















