कलैया,बारामा एक किशोरीलाई सामुहिक बलात्कार गरेर जबरजस्ति गर्भपतन गर्न लगाइएको घटना सार्वजनिक भएको छ ।
जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोकाकी १६ वर्षिया किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का अन्दाजी २५÷२६ वर्षका भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले तीन महिनापहिले सामुहिक बलात्कार गरेका थिए ।
बलात्कारपछि गर्भवती भएकी ती किशोरीलाई आरोपित दुवै युवकले शनिबार राति घरबाट जबरजस्ति डाक्टर ओमप्रकाश महतोकोमा लगेर गर्भपर्तन पनि गराएका छन् । राति अचेत बनाएर गर्भपतन गराएपछि होशमा आएर घर फर्किएकी ती किशोरीले आफुसंग भएको ज्यादती बारे अभिभावकलाई जानकारी गराएपछि घटना प्रकाशमा आएको हो । आइतबार पिडीत किशोरीका अभिभावकले आरोपित दुवै युवक र गर्भपतन गराउने डाक्टर महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएका छन् ।
किटानी जाहेरी परेका आरोपित दुवै युवक र डाक्टर महतो फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । पिडीत किशोरीको आइतबार दिउँसो प्रादेशिक अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराएर प्रहरीकै संरक्षणमा राखिएको पनि थापाले बताउनुभयो ।
पिडीत किशोरीकी आमाका अनुसार तीन महिनापहिले बलात्कार भएको भएपनि आरोपित युवकहरुले ज्यान मार्ने धम्की दिएर तर्साएका कारण किशोरीले आफुमाथि भएको कुकर्मबारे कसैलाई पनि जानकारी गराउन सकेकी थिइनन् । तर दुई दिनपहिले अचानक महिनावारी (रजश्वला) रोकिएपछि किशोरीले यसबारे आरोपित युवकहरुलाई भेटेर आफु गभर्भवती भएको बताएकी थिइन् । त्यसपछि ती दुवै युवकले शनिबार राति उनलाई जबरजस्ति डाक्टर महतोकोमा लगेर गर्भपतन गराएको बताइएको छ ।