पुष्पराज खतिवडा
मनहर्वा,स्थानीयत तहको निर्वाचनपछि बाराको जीतपुरसिमरा उपहानगरपालिकामा नेतृत्व बदलिए पनि नदी दोहोन भने पहिलेकै अवस्थामा भइरहेको पाइएको छ । उपमहानगरपालिकको क्षेत्रमा पर्ने दुधौरा, बालगंगा र पसाह खोलामा चरम दोहन हुदै आएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयले ठेक्का लगाएको उक्त खोलाहरुमा नियम विपरीत उत्खनन् भइरहेको छ । शुक्रबार बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल सहित शुरक्षा प्रमुखहरुको टोलीले खोलाको अनुगमन गरेको छ । सो क्रममा ती खोलाहरुमा मापदण्ड विपरीत बालुवा, गिट्टी उत्खन भएको पाइएको थियो ।
वातावरणीय प्रभाव मूल्याकन प्रतिवेदनमा खोलाको बीच भागबाट बढीमा ३ फिटसम्म उत्खन गर्न सकिसने उल्लेख छ । तर ठेकेदार कम्पनीले स्काभेटर नै प्रयोग गरी मापदण्ड विपरीत ३० फिटसम्म गहिरो खाल्टो बनाएर बालुवा, गिट्टी उत्खनन् गरिरहेको पाइएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताउनुभयो । ‘यस विषयलाई हामीले गम्भीर ढंगले लिएका छौं, उहाँले भन्नुभयो, जिल्ला समन्वय समितिमामार्फत पालिकाको ध्यानाकर्षण गराएर नियन्त्रणको प्रयास गरिने छ ।’
उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलको आग्रहमा सुरक्षा प्रमुखहरुको टोलीले खोलाको निरीक्षण गरेको हो । वडा अध्यक्ष खरेलले खोलाहरुमा भइरहेको दोहनप्रति निर्वाचित भएको पहिलो सातादेखि नै चासो राख्दै आउनु भएको थियो । उहाँले खोलामा अबैध ढंगबाट मनपरी उत्खन भइरहेको बताउनुभयो । जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयले अनुगमनमा बेवास्ता गरेका कारण ठेकेदार कम्पनीहरुले मनपरी उत्खनन गर्ने मौका पाएको उहाँको भनाइ छ ।
खोलाको चौडाइ मध्ये बीचबाट एक तिहाइ मात्र उत्खनन् गर्न डिमार्केशन भएको भएपनि उपमहानगरले अनुगमन नगर्दा ठेकेदारले मनपरी गर्दै आएका छन । वातावणीय प्रभाव मुल्याङ्कन गर्दा नै डिमार्केशन गर्न गाडेका पिलर समेत उखलेर फालेको र खोलाको दायाँ बायाँ समेत मापदण्ड विपरीत उत्खनन् गरिएको उहाँको भनाइ छ । आफुले पदमा नहुँदा पनि अवैध गतिविधिको विरोध गर्दै आएको र नियम विपरीत उत्खनन् नगर्न पटकपटक आग्रह गर्दा पनि ठेकेदार पक्षले नमानेको वडा अध्यक्ष खरेलको भनाइ छ ।
अघिल्ला वर्षहरुमा १२ करोड रुपैयाभन्दा बढीमा ठेक्का लागेको दुधौरा, बालगंगा र पसाहा खोलामा यस वर्ष ४ करोड ८१ लाख रुपैंयामा उत्खनन् गर्ने ठेक्का लागेको थियो । पाँच महिना ढिला गरी ठेक्का लगाएको नगरपालिकाले दर र परिणाम घटाएर ठेक्का लगाएको पाइएको थियो । अघिल्लो वर्ष ८ रुपैया १३ पैसा प्रतिसेफ्टीमा ठेक्का लगाएको नगरले यस वर्ष ६ रुपैयाँ प्रतिसेफ्टीमा ठेक्का लगाएको थियो । गत वर्ष ९६ लाख घनमिटर नदीजन्य पदार्थ निकाल्न ठेक्का लगाएको नगरले यस वर्ष ६९ खाल घनमिटर मात्र निकाल्ने गरी सम्झौता गरेको नगरपालिकाले जनाएको छ ।
सिमराका व्यवसायी नारायण घिमिरेको नाममा दर्ता भएको सन्देश सप्लायर्स प्राईभेट कम्पनीले मापदण्ड विपरीत तोकिएको परिमाणभन्दा १० औं गुणा बढी गिटी बालुवा निकालेर बिक्री वितरण र सडकमा भण्डारण समेत गर्दै आएको छ ।