दुष्यन्त चौधरी
कलैया – बाराका १६ स्थानीय तहमध्ये ६ वटा पालिकाले नयाँ आर्थिक वर्षको खाता सञ्चालनमा ल्याएका छन् । खाता सञ्चालन गर्नेमा करैयामाई, विश्रामपुर, प्रसौनी, परवानीपुर र फेटा गाउँपालिका तथा सिम्रौनगढ नगरपालिका रहेका छन् ।
तीमध्ये करैयामाई, विश्रामपुर, प्रसौनी र परवानीपुर गाउँपालिकाले निकासा समेत प्राप्त गरिसकेका छन् ।
फेटा गाउँपालिका र सिम्रौनगढ नगरपालिकाले खाता सञ्चालन गरे पनि निकासा भने पाउन बाँकी रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराले जनाएको छ । कार्यालयका प्रमुख राधेश्याम गिरीका अनुसार बाँकी १० स्थानीय तहले भने अझै खाता सञ्चालन गर्न सकेका छैनन् । खाता सञ्चालन र निकासा प्रक्रिया पूरा नहुँदा ती पालिकाको नियमित आर्थिक कारोबार तथा बजेट कार्यान्वयन प्रभावित भएको छ ।
खाता सञ्चालन तथा निकासा प्राप्त गर्ने प्रक्रिया पूरा भएपछि मात्रै स्थानीय तहमा बजेट तथा कार्यक्रम कार्यान्वयनले गति लिने कार्यालयले जनाएको छ ।
















