कलैया, १९ साउन– जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको अनिश्चितकालीन निषेधाज्ञाका कारण जिल्ला सदरमुकाम कलैयालगायत निजगढ, कोल्हवी, जीतपुरसिमरा, परवानीपुर, सिम्रौनगढ, बरियापुरलगायत प्रमुख बजार क्षेत्र आइतबार सुनसान बनेको छ । पुर्वपश्चिम लोकमार्ग र त्रिभुवन राजपथमा अत्यावश्यक सेवाका सवारी साधन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीका सवारी साधनबाहेक अन्य सवारी साधन गुडेका छैनन ।
सरकारी कार्यालयहरु खुलेका भएपनि भिडभाड देखिएको छैन । पथलैया–वीरगज औद्योगिक करिडोरका कलकारखाना र बजार क्षेत्र पनि बन्द रहेका छन ।
निषेधाज्ञा पालनमा कडाइ गर्न स्थानीय प्रशासनले जिल्लाका विभिन्न क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ । ठाउँठाउँमा प्रहरीले मास्कको प्रयोग नगर्नेलाई नियन्त्रणमा लिएर कारवाही गर्ने र अनावश्यक डिहडुल गर्नेमाथि कडाइ गरिएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय बाराले आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम जिल्लाका विभिन्न स्थान तोकेर निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी क्षेत्रमा अत्यावश्यक काम बाहेक भेला हुन तथा घर बाहिर निस्कन रोक लगाएको छ ।
कार्यालयले पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया–वीरगज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरेको हो ।
निषेधाज्ञा अवधिभर निषेधित क्षेत्रभित्र अत्यावश्यक सेवामा संलग्न रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने र सवारी साधनसमेत बन्द हुने छन ।
त्यसैगरी कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरु (विवाह, व्रतवन्ध, भोजभतेर) गर्न प्रतिवन्ध लगाइएको छ । यस्तै छिमेकी मुलुक भारतसँग जोडिएका सीमा नाकाहरुमा आवतजावत पूर्णमा रुपमा बन्द गरिएको छ ।
यो अवधिमा पनि औषधि पसल भने २४ सै घण्टा खुल्ला रहने र खाधान्न, ग्यास, इन्धन, दूध, डेरी पसलहरु, तरकारी पसलहरु मुख्य बजार क्षेत्रमा बिक्री वितरण नगरी साइकल तथा ठेलागाडामा राखेर मात्र अन्य क्षेत्रमा विहान १० बजेदेखिमात्र बिक्री गर्न पाइने छ ।