कलैया,जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले आफूले दिएको र मधेस प्रदेशका अन्य योजनामा पर्याप्त बजेट नदिए संघीय मामिला मन्त्रालयमै अनशन बस्ने चेतावनी दिनुभएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको टेबुल बिहीबार ठोकाठोक गर्नुभएका उहाँले शुक्रबार मधेस प्रदेशका अन्य योजनामा बजेट नदिए मन्त्रालयमै अनशन बस्ने चेतावनी दिनुभएको हो । ‘यो विभेद तथा प्रवृत्तिविरुद्ध मैंले विरोधको विगुल फुकेको हो । आफ्नो क्षेत्र तथा बाराका जनताको लागि मन्त्रीसँग मात्रै नभएर राज्यको जुनसुकै शक्तिसंग लड्न तथा संघर्ष गर्न तयार छु ।’ उहाँले भन्नुभयो ‘सिंहदरबार देख्न नपाएका जनताको तर्फबाट असार ३ गतेसम्मको अल्टिमेटम दिसकेको छु । यस्तो प्रवृत्ति सच्चिएन भने मन्त्रालयमै अनशन बस्छु ।’
यस्तै उहाँले मधेश प्रदेशको जनता करदाता, मतदाता र अन्नदाता मात्रै हुन ? त भनी प्रश्नसमेत गर्नुभएको छ । संघीय मामिला मन्त्रालयले प्रदेश १ मा १ हजार २ सय सिंचाई, कृषि सडक, र झुलुङ्गे पुलको योजना दिएको तर मधेस प्रदेशमा नदिएको गुनासो उहाँको छ । ‘मैले आफ्नो क्षेत्र तथा बारा जिल्लाका जनतालाई आवश्यक विकासका योजना ३ पटक गरि २० वटा योजना (झोलुङ्गे पुल, कृषि सडक, साना पुल, र सिँचाई सम्बन्धी योजना) लेटरप्याड लेखेर दिएँ ।’ उहाँले भन्नुभयो, ‘बारा जिल्लाको लागि एउटा पनि योजना किन नपरेको ? बारा जिल्लाका जनताले तपाईलाई भोट मात्रै दिएर मन्त्री बनाईराख्ने ? बाराका जनता देशलाई अन्नबाली उब्जाएर दिने अन्नदाता मात्रै हुन ?’
उहाँले मन्त्रालय किन पूर्वाग्रही भएको भनेर प्रश्न गर्दा मन्त्रीले जवाफ दिनुको साटो उल्टै ढाँट्ने तथा उठेर भाग्न खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रीले जनताको कुरा सुन्नुपर्छ भनेर जनताको आक्रोश पोख्दा चर्का चर्की भएको हो ।’
८ जिल्ला भएको मधेश प्रदेशमा ४० वटा मात्रै योजना अनि एउटा मन्त्रीको क्षेत्रमा १२८ वटा योजना राखिएको उहाँको दावी छ ।