काठमाण्डौं -पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा सडक भासिएपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ । आइतबार बाढीले ठूलो क्षेत्रमा कटान गरेपछि सडक भासिएको हो । सडकको केही भाग नदीतर्फ बगेर गएपछि अहिले पैदल यात्रु हिड्नसमेत कठिन भएको छ ।
भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था रहेको छैन । जसले गर्दा पृथ्वी राजमार्गको उक्त खण्डमा आवागमन प्रभावित भएको छ । सडक भासिएको स्थानमा थप कटानको जोखिमसमेत रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । सडकको अवस्था बिग्रिएसँगै राजमार्गमा सवारीसाधन रोकिएका छन् भने यात्रुहरू गन्तव्यसम्म पुग्न समस्या भएको छ ।
त्रिशूली नदीमा आएको बाढीले यसअघि पनि पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान तथा क्षति पु¥याएको थियो । पछिल्लो समय कृष्णभीरमा समेत सडक भासिएपछि काठमाडौँ–चितवन हुँदै पूर्व–पश्चिम आवतजावत गर्ने यात्रु थप प्रभावित भएका छन् । सडकको ठूलो भाग नै भासिएकाले तत्कालै नियमित यातायात सञ्चालन गर्न चुनौती देखिएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।















