काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उहाँले वर्तमान समय राष्ट्रिय शोक र पीडाको विषय भएको उल्लेख गर्नुभयो ।

यो संकटलाई साझा दायित्वका रूपमा ग्रहण गरी समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो । विपद् व्यवस्थापनमा सरकारको भूमिका र जिम्मेवारी अन्य निकायको तुलनामा बढी हुने उल्लेख गर्दै उहाँले राज्यकोषको परिचालन नागरिकको उद्धार, राहत र पुनःनिर्माणमा केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

‘यो विपत्ति वास्तवमै राष्ट्रिय शोक र पीडाको समय हो । यस्तो बेला जनता मारमा परिरहेका छन्, त्यसैले यसमाथि कसैले पनि राजनीति गर्नु हुँदैन । यो हाम्रो साझा पीडा हो र यसको समाधान गर्ने दायित्व पनि साझा नै हो । सबैले उदारता, दृढता र संयमका साथ सहयोगको हात बढाउनु आवश्यक छ,’ ओलीले भन्नुभएको छ ।

खासगरी राजधानी नजिकैको प्रदेशमा घटेको यो घटनाको गहिराइ बुझ्न सहज भएको भन्दै उनले तीनै तहका सरकार (केन्द्र, प्रदेश र स्थानीय) बीच प्रभावकारी समन्वय हुनुपर्ने धारणा राख्नुभयो ।
ओलीले राजनीतिक दल, सङ्घसंस्था, समाजसेवी र परोपकारी निकायहरूलाई समेत एकीकृत रूपमा विपद्को सामना गर्न आग्रह गर्नुभयो ।

Leave a Reply