वीरगञ्ज,सशस्त्र प्रहरी पर्साले भन्सार छलीका सामान तथा लागुऔषध बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईदगाहा चोक इलाकाबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याउँदै गरेको विभिन्न सामान बरामद गरेको हो ।सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले ५ लाख ६२ हजार बराबरको किराना सामान, कपडा, जुत्ता र जिमका सामानहरू विभिन्न सार्वजनिक सवारी साधनमा लोड गरि ल्याउँदै गरेको अवस्थामा बरामद गरेको हो । बरामद गरिएका सामानहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ ।
त्यसैगरी, शंकरआचार्य गेट नजिक रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका दुई युवाहरूलाई शंका लागि चेकजाँच गर्दा लागुऔषध सहित पक्राउ गरिएको छ । गोर्खाका १९ वर्षीय लिखल गुरुङ्ग र वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका १९ वर्षीय बिकी कुमारलाई १९ एम्पुल नोरफिन, १६ एम्पुल डाईजापाम, र १४ एम्पुल फेनारागन सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरूमाथि आवश्यक कारबाहीको लागि प्रहरी चौकी ईनरुवा पर्सामा बुझाइएको छ ।त्यसैगरी, दुई व्यक्तिले टाउकोमा बोकी भारततर्फ लैजाँदै गरेको २८ हजार ६ सय रुपैया बराबरको ७५ किलो अनार र ३० किलो स्याउ समेत सशस्त्र प्रहरीले बरामद गरेको छ । यी फलहरू भने वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौबाट ना ५१ प १०१८ नम्बरको मोटरसाइकलमा लोड गरि ल्याउँदै गरेको ४५ हजार रुपैया बराबरको किराना सामान र रु १ लाख ६० हजार मूल्याङ्कन गरिएको मोटरसाइकल समेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।
यसैबीच ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध नशालु इन्जेक्सनसहित दुई जना भारतीय नागरिकलाई रौतहटमा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० वर्षीय रोशन कुमार र सोही ठाउँ वडा ३ का १८ वर्षीय अमीत कुमार रहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डीएसपी गेहेन्द्र भण्डारीले बताउनुभएको छ ।मंगलवार राति ९ बजेको समयमा गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना १ ज ७१०९ नम्बरको म्याजिक गाडी चेक जाँच गर्दा दुवैजनाले सिट मुनी लुकाइराखेको प्रतिबन्धित नोरफिन इन्जेक्सन २९९ एमपुल, प्रोमेथाजिन इन्जेक्सन २९९ एमपुल र डाईजीपाम ३०० एमपुल गरी कुल ८९८ थान नशालु इन्जेक्सन बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताउनुभयो ।बरामद नशालु इन्जेक्सन सहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।


















