सिमरा,साविक डुमरवाना गाविसका पूर्वउपाध्यक्ष स्वर्गीय द्वारिका चौधरी (दादा)को स्मृतिमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १३ मा निर्मित ‘द्वारिका दादा स्मृति भवन’ को शनिवार उद्घाटन गरिएको छ ।भवनको नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गर्नुभएको हो ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले २०४९ र २०५४ सालमा गाविस उपाध्यक्षमा निर्वाचित हुनुभएका चौधरीले गरेका विकासका कामको प्रशंसा गर्नुभएको थियो । डुमरवाना गाविसको कार्यवाहक अध्यक्षको भूमिका समेत निर्वाह गर्ने क्रममा चौधरीले उक्त क्षेत्रका लागि अतुलनीय योगदान गरेको पौडेलको भनाई थियो ।चौधरी २०४३ सालमा जनपक्षीय उपप्रधानपञ्च समेत थिए । विक्रम सम्वत १९९९ मा जन्मिनुभएका चौधरीको २०६३ कार्तिक ३० गते निधन भएको थियो । कार्यक्रममा चौधरीको परिवारका सदस्य प्रमिला चौधरीलाई सम्मान गरिएको थियो ।कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् पूर्वनगर उपप्रमुख सरस्वती देवी चौधरी, एमाले मधेस प्रदेश सचिव मनोज पौडेल, डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी, स्थानीय अगुवा रुपलाल चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।पलट चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा वडा नम्बर १४ की वडा अध्यक्ष चयन गुरुङ, कार्यपालिका सदस्य प्रलाद साह, पूर्ववडा अध्यक्ष राजेन्द्रप्रसाद सिंह, वडा सदस्य एवम् न्यायिक समिति सदस्य जादोलाल सहनी, एमाले जिल्ला कमिटी सदस्य सीमा ठकुरी, एमाले युवा नेता त्रिलोकबिक्रम शाह, गोबिन्द चौधरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण किशोर शर्माले गर्नुभएको थियो भने स्वागत मन्तव्य वडा नम्बर १३ का वडा अध्यक्ष हेमनारायण चौधरीले राख्नुभएको थियो ।



















