निजगढ,निजगढ सार्वजनिक सरोकार समितिको टोलीले निजगढ विमानस्थल निर्माण गर्नु पर्ने माग राखेर शुक्रवार पूर्वप्रधानमन्त्री एंव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ज्ञापन पत्र बुझाएको छ ।
विमानस्थल निर्माण नगर्ने सर्वोच्च अदालतको फैसलापछि आन्दोलन गर्दै आएको सरोकार समितिको टोलीले काठमाण्डौं पुगेर पूर्वप्रधानमन्त्री नेपाललाई ज्ञापन पत्र बुझाएको हो । सो अवसरमा अदालतको फैसला पुनवरालोकन गराएर विमानस्थल बनाउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
समितिको टोलीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष राजेन्द्र महतो र नेता महन्थ ठाकुरलाई पनि शुक्रवार नै ज्ञापन पत्र बुझाएको छ । त्यसैगरी टोलीले यसअघि संस्कृति नागरिक उड्डयन मन्त्री प्रेम आले र अर्थमन्त्री जनार्दन शर्मासंग पनि भेटेर विमानस्थल निर्माण गर्ने बारे सर्वोच्च अदालतको फैसलाको पुनरावलोकन गर्न माग गरेको थियो । शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसंग भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको निजगढ सार्वजनिक सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी विमानस्थल निर्माणको माग राखेर निजगढस्थित शहिद चोकमा सुरु भएको रिले अनसनको चौथो दिन शुक्रवार पनि जारी रहेको छ । अनशनमा श्यामकृष्ण घिमिरे, मुकेश साह, कृष्ण महतो, रविन राउत, सागर अधिकारी, विशाल काफ्ले, सरोज ठाकुर, ईश्वर सापकोटा, सन्तोष तिमल्सिना, निरोज खतिवडा, घनश्याम तिमल्सिना, सन्देश ढोडारी, रोशन आले मगर, संजय थापा, अनिल गौतम, आकाश तामाङ्ग र अमृत राउत सहभागी छन । त्यसैगरी बिहिवारको अनसनमा चन्दन चौधरी, कैलाशकुमार धामी, विशाल पौडेल, जनक घिमिरे, कैलाश तिमल्सिना, पुस्तक चौलागाई, साजन गौतम, सन्तोष ज्ञावाली, रामराजा ढुङ्गाना, गोमा सापकोटा, सजना खतिवडा र रमेशकुमार अर्याल सहभागी भएका थिए । उनीहरुले अन्न र फलफुलसमेत नखाइ २४ घण्टासम्म अनसन गर्ने छन ।
यसैबीच पूर्वपशिचम लोकमार्गको सहिद चोकमा स्थानीयले शुक्रवार पनि चक्काजाम र धर्ना दिएका छन । विमानस्थल निर्माण नगर्ने भनेर सर्वोच्च अदालतले गरेको निर्णयपछि सरोकार समितिको आह्वानमा स्थानीयले १४ दिनअघिदेखि लोकमार्गमा धर्ना र चक्काजाम गर्दै आएका हुन ।