नरेश गुप्ता
बरियारपुर,सढेको ८० क्विन्टल दालसहित ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको पचरौता नगरपालिकाको बेलदारी गाउँबाट कलैयास्थित यादव कोल्ड स्टोरमा जादै गरेको ना. २ त .७५२५ नम्बरको टयाक्टरमा लोड गरिएको ८० क्विन्टल सडेको दाल बिहीबार बिहान प्रहरीले नियनत्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी टोलीले नियमित गस्तीको क्रममा रामनगर गाउँ नजिकको सडकमा चेक जाँच गर्ने क्रममा सढेको दाल बोकेको ट्याक्टरसहित पचरैता नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २६ का पान्नालाल महतोलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक सुबेदीले जानकारी गराउनुभयो ।
प्रहरी निरीक्षक सुबेदीका अनुसार चालक पन्नालालले सो दाल कलैयास्थित नेपाली काग्रेशका नेता राधेचन्द यादवको यादव कोल्ड स्टोरमा पुर्याउन लागिएको र सोको लागि दाल धनी ओमप्रकाश यादवले वडा नम्बर ४ का वडा अध्यक्ष कन्हैयालालप्रसाद यादवको सिफारिससहित पठाएको जानकारी दिएको बताउनुभयो ।
यता, दाल धनी ओमप्रकाशले आफुले सो दाल यादव कोल्ड स्टोरबाट एक वर्ष अगाडि माछाको दाना तयार गर्न खरिद गरेकोमा दाना तयार नभएपछि यादव कोल्ड स्टोरमा फिर्ता पठाउन लागेको बताउनुभएको छ । नियन्त्रणमा लिइएको दाल, टयाक्टर र चालक थप उपर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुबेदीले जानकारी दिनुभयो ।
एक वर्षअघि कोभिड १९ संक्रमणको महामारी तीव्र बनेको बेला कलैया उपमहानगरपालिकाकाले राहतको नाममा अधिकांश वडाहरुमा यस्तै किसिमको सढेको दाल वितरण गरेको थियो । सढेको दाल वितरण गरेको घटना सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव र केही वडा अध्यक्षसमेतलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।