सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ निवासी राकेशभक्त पौडेलको हत्याका दोषि पत्ता लगाएर सार्वजनिक गर्नुपर्ने माग गर्दै स्थानीयहरुले शुक्रवार जीतपुरमा चक्काजाम गरेका छन् ।
हत्याको २२ दिन बिति सक्दा पनि दोषि पत्ता लगाएर सार्वजनिक नगरिएको भन्दै पीडित परिवारका सदस्यसहित स्थानीयले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरस्थित दुर्गा मन्दिरअगाडि मुख्य सडकमा चक्काजाम गरेका हुन् ।
घटनाको सत्य तथ्य बाहिर ल्याउन र दोषिलाई कडाभन्दा कडा सजायको माग गर्दै स्थानीय सडकमा उत्रिएका हुन । यसैबीच मृतक पौडेलको साथमा रहेको पर्स घटनाको २२ दिनपछि शुक्रवार बिहान फेला परेको छ । वडा नं. ६ र वडा नं. ३ को सीमानामा पर्ने शिव मन्दिरअगाडि सडकको छेउमा पर्स भेटिएको हो ।
स्थानीय कृष्णप्रसाद रिमालले पर्स फेला पारेपछि खोलेर हेर्दा मृतक पौडेलको फोटो देखिएको र प्रहरीलाई बोलाएर जिम्मा लगाइएको थियो । शिव मन्दिर नजिकै रहेको रिमालको पसलअगाडि उक्त पर्स फेला परेको हो । पसल अगाडिको सडक छेउमा घाँसहरु हँसियाले काटेर सफा गर्ने क्रममा सो पर्स फेला पारेको रिमालले बताउनुभयो ।
प्रहरीले पर्स भेटिएको ठाउँ सिल गरी पर्सको मुचुल्का उठाएको छ । पर्समा केही कागज पत्र पनि भेटिएको थियो । गएको बैशाख २९ गते मध्य रातमा स्थानीय चित्रबहादुर केसीको घरको आँगनमा ३८ वर्षीय पौडेलको शव फेला परेको थियो । पौडेलको टाउको पछाडिको भागमा धारिलो हतियारको प्रहारबाट गहिरो घाँउ लागेको अवस्था फेला परेको र हात तथा शरीरको अन्य भागमा पनि चोटपटक लागेको मृतकका जेठा दाजु केदारभक्त पौडेलले बताउनुभयो । स्थानीय तह चुनावको अघिल्लो रात बैशाख २९ गते चित्रबहादुरको घरमा जमघट र भोजभतेर गरिएको र सोही क्रममा पौडेलको हत्या भएको मृतकका जेठा दाजु पौडेलले बताउनुभयो ।
चित्रबहादुरले माओवादीको तर्फबाट वडा नम्बर ६ को सदस्य पदको लागि उम्मेदवारी दिनुभएको थियो । तर उहाँ चुनावमा पराजित हुनुभएको छ । उहाँलाई नैं जिताउन मृतक पौडेल सहित अन्य ११ जना युवाहरु त्यहाँ भएको भोजमा सहभागी थिए ।
प्रहरीले घटनाको ९ औं दिनमा सुरुमा एक किशोरीलाई पक्राउ गरेर अनुसन्धान थालेपछि उनकै बयानको आधारमा थप ५ जनालाई पक्राउ गरेको थियो । त्यसपछि अन्य सात जनालाई पक्राउ परेका थिए ।
आफन्तहरुले भने मृतक राकेशको पर्स पनि हराइरहेको भनेर प्रहरीमा निवेदन दिएका थिए । हत्या भएको २२ औं दिनमा सधै चहलपहल रहने उक्त ठाउँमा अचानक हराएको पर्स सुरक्षित अवस्थामा फेला पर्नुले पनि घटना सुनियोजित भएको मृतकका कान्छा दाजु राजेशभक्त पौडेलले बताउनुभयो । मृतककी जेठी भाउजु प्रतीमा पौडेलले शिव मन्दिर परिसरमा रहेको चौतारामा दिनहुँ दर्जनौं मान्छेहरु बस्ने र हत्याको २१ औं दिनसम्म फेला नपरेको पर्स अचाक फेला पर्नुले घटनालाई रहस्यमय बनाएको बताउनुभयो ।
उता ईलाका प्रहरी कार्यालय सिमराले पक्राउ परेका १३ जनामाथि अनुसन्धान थालिएको जनाएको छ ।