हालै स्थानीय तहको चुनाव सम्पन्न छ । एक स्थानीय तह बाहेक सबै पालिकाको मत परिणाम पनि सार्वजनिक भएर जनप्रतिनिधिहरु अहिले आफ्नो पालिकाको काम कसरी गर्ने भन्ने विषयमा सोच बिचार र नीति नियम बनाउदैछन् । यसैक्रममा नेकपा माओवादी केन्द्रले आफ्ना पार्टीका तर्फबाट स्थानीय तहमा जितेकाहरुलाई काठमाडौंमा बोलाएर प्रशिक्षण दिएको छ ।
हुन त उसले दिएको डिनरको विषयमा पनि टिकाटिप्पणी भयो तर त्यो ठूलो कुरा होइन । बास बसेपछि खाना खानु स्वभाविक नै हो । यसमा त्यस्तो आपत्ति जनाइहाल्नु पर्दैन । तर माओवादीले जनप्रतिनिधिहरुलाई के सिकायो भन्ने कुरा चाही मुख्य र अहम सवाल हो । किनभने माओवादी भनेको सशस्त्र संघर्षबाट यो मुलुकमा उदाएको राजनीतिक शक्ति हो । उसले हिजो कार्यकर्ताहरुलाई फरक किसिमले फरक प्रकारको खालबाट सत्ता संचालनका लागि प्रशिक्षण दिने गरेको थियो ।
तर, आज जनमतबाट उनीहरु जनप्रतिनिधिको रुपमा विजयी भएका छन् । जे भने पनि जनमतको बिकल्प नभएको कुरा माओवादीले स्वीकार गरेकै कुरा हो । त्यसैले पनि स्थानीय तहमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले भोलिका दिनमा के गर्छन् त्यो हेर्न आवश्यक छ । तर, माओवादीले सत्ता संचालनका लागि दिएको प्रशिक्षणलाई भने नाजायज भन्न सकिन्न ।