निजगढ,निजगढ नगरपालिका वडा नम्बर २ स्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिद्धबहादुर थापालाई डिभिजन वन कार्यालय बाराले पक्राउ गरेको छ ।सामुदायिक वन समूहको वन क्षेत्र अतिक्रमण गरेर आवादी गरेको आरोपमा अध्यक्ष थापालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय बाराका प्रमुख एवंम डिएफओ विनोद सिंहले जानकारी दिनुभयो । थापालाई शनिवार दिउसो १ बजे घरबाटै पक्राउ गरिएको हो ।वन क्षेत्रको जमिन स्थानीय विद्यालय, गुम्बा र केही सामुदायिक संघ संस्थाको नाममा वितरण गरेर आवादी गरेको आरोपमा अख्तियार अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको र कारबाही अघि बढाउन निर्देशन दिएपछि थापामाथि आवश्यक अनुसन्धानको लागि पक्राउ गरिएको डिभिजन वन कार्यालय बाराका प्रमुख सिंहले जानकारी दिनुभयो ।अध्यक्ष थापासहित स्थानीयविरुद्ध ०७३ सालमा अख्तियार अनुसन्धान आयोगको कार्यालयमा वन अतिक्रम गरेको भन्दै उजुरी परेको थियो । सोही उजुरीको कारबाहीको क्रममा अख्तियारले पटकपटक पत्राचार गरेपछि डिभिजन वन कार्यालय बाराले थापालाई पक्राउ गरेको हो ।
सशस्त्र द्वन्दको समयमा माओवादी कार्यकर्ताहरुले फडानी गरेपछि सो सामुदायिक वन क्षेत्रको करिव ३० बिघा जमिन स्थानीयले विभिन्न संघसंस्थाको नाममा छुट्याएर आवादी गर्दैआएका छन । अतिक्रमणमा परेको भनिएको सो वन क्षेत्रको जमिनमा हाल केरा खेतीसंगै केही स्थानीयले घरसमेत निर्माण गरेर बसेका छन ।वन अतिक्रमण र अवादीमा अध्यक्ष थापाको समेत संलग्नता रहेको आरोपमा थापालाई पक्राउ गरिएको डिएफओ सिंहले बताउनुभयो ।


















