जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विध्वंशकारी बाढीको चपेटामा मधेस प्रदेशका विभिन्न जिल्लाका १९२ जना बेपत्ता भएकामध्ये ३० जना परिवारको सम्पर्कमा आएका छन् । अन्य १६२ जनाको अवस्था अहिले पनि अज्ञात छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी प्रभप्रसाद ढकालका अनुसार परिवारबाट खोजतलासका लागि परेको निवेदन अनुसार सप्तरीका ४८ जना अझै सम्पर्कविहीन अवस्थामा छन् । सप्तरीका एक जना भने परिवारको सम्पर्कमा आएका छन् ।
त्यस्तै सिरहाबाट १० जना बेपत्ता भएकोमा २ जना सम्पर्कमा आएका छन् भने ८ जनाको अवस्था अझै अज्ञात छ । धनुषाका ७ जना सम्पर्कमा आएको तथा ६ जना अझै सम्पर्कविहीन रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । महोत्तरीका १७ जना हराएकोमा ७ जना सम्पर्कमा आए पनि १० जनाको अवस्था अझै अज्ञात छ । सर्लाहीबाट १९ जना सम्पर्कविहीन भएकोमा ३ जना परिवारको सम्पर्कमा आएका छन् भने १६ जना बेपत्ता छन् ।
रौतहट जिल्लामा घर भई हराएका १९ जनामध्ये ३ जना परिवारको सम्पर्कमा आएका छन् भने १६ जना अझै बेपत्ता छन् । बाराका २५ जना बेपत्ता भएकोमा २ जना सम्पर्कमा आएका छन् भने २३ जनाको अवस्था अझै अज्ञात छ । पर्सा जिल्लाबाट ४० जना सम्पर्कविहीन भएकोमा २ जना सम्पर्कमा आए पनि ३८ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
त्यसैगरी नेपाल प्रहरीमा कार्यरत मधेसका ९ जना हराएकोमा ६ जना सम्पर्कमा आएका छन् भने ३ जनाको अवस्था अज्ञात छ । नेपाली सेनामा कार्यरत ३ जना बेपत्ता भएकोमा १ जना सम्पर्कमा आएको र २ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । सम्पर्कविहीन भएकाहरूमध्ये अधिकांश हाइड्रोपावरमा कार्यरत भएकाले त्यहाँको सुरुङभित्र फसेको हुनसक्ने परिवारका सदस्य बताउँछन् ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विध्वशंकारी बाढीमा परेर बेपत्ता भएकाहरूको खोजी गरिदिन आग्रह गर्दै विभिन्न जिल्लाका प्रहरी कार्यालयमा परिवारका आफन्तले निवेदन दिएका छन् । प्रहरीले पनि सूचना सार्वजनिक जारी गर्दै मधेसबाट कसैको आफन्त हराएको, सम्पर्कविहीन अवस्था छ भने आफ्ना विभिन्न युनिट ईलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमा विवरणसहित निवेदन दिन आग्रह गर्दै आएको छ ।
मधेसका विभिन्न जिल्लाबाट रसुवा, धादिङ, नुवाकोटमा रोजगारी तथा व्यापार, व्यवसाय तथा अन्य कामका लागि त्यहाँ रहेकाहरू उक्त घटनामा परेर सम्पर्कविहीन भएपछि परिवारजन चिन्तित बनेका छन् । मधेस प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन व्यक्तिहरूको खोजतलासका लागि रसुवा, धादिङ लगायत प्रभावित जिल्लाका प्रहरी कार्यालयहरूसँगको समन्वयमा काम थालिएको जनाएको छ ।















