कृष्ण मोहन साह

सेढवा,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान जोन कार्यक्रममा सहभागी भएर चैते धानखेती गरेका ठोरीका किसानको धानमा दाना नलाग्दा किसानहरू चिन्तामा परेका छन् । ५० प्रतिशत अनुदानमा बीउ सुविधा र अन्य यान्त्रीकरणको सुविधा प्राप्त गरेर धानखेती गरेका ठोरी गाउँपालिका( ३ का अधिकांश किसानको खेतको धानमा बाला पसाए पनि दाना लागेको छैन ।

धान जोन अन्तर्गत करीब ११० बिघा र अन्य किसानले व्यक्तिगतरूपमा रोपेको धानमा बाला लागे पनि दाना नलागेर त्यसै सुक्न थालेपछि किसान चिन्तित भएका छन् । धान जोन कार्यक्रममार्फत ५० प्रतिशत अनुदानमा उपलब्ध भएको हर्दिनाथ(१ प्रजातिको धान लगाएका किसानको खेतमा नै बाला सुक्न थालेपछि लगानी र मेहनत दुवै खेर जान लागेको ठोरी(३ का नवनिर्वाचित अध्यक्ष शम्भु खड्काले बताउनुभयो । ठोरी(३ मा सिंचाइको उपलब्धता र धानखेती धेरै हुने भएकोले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत धान जोन कार्यक्रम लागू गरिएको छ ।

यस्तै, धान जोनमा सहभागी नभएका अन्य किसानहरूले समेत धानखेती गर्ने गरेका छन् । ठोरी(३ मा मात्र यस वर्ष करीब तीन सय बिघाभन्दा धेरै क्षेत्रफलमा लगाइएको चैते धानमा दाना नलागेको स्थानीय अगुवा ठाकुरप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

बितेको चैतको पहिलो सातातिर धान रोपेको र बिरुवा फस्टाएर बाला झुलेको भएपनि धानमा दाना नलाग्ने समस्या भेटिएको ठोरी गापाको कृषि शाखा प्रमुख चन्दन थारूले जानकारी दिनुभयो । उहाँले किसानले धानमा दाना नलागेको गुनासो गरेपछि फिल्डमा गएर हेर्दा धानबालीमा दाना नलागेको देखिएको बताउनुभयो ।

यसको कारणबारे अध्ययन गर्न आएको कृषि ज्ञान केन्द्र, वीरगन्जको टोलीले समेत कुनै निष्कर्ष निकाल्न नसकेको स्थानीयले बताएका छन ।

कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख मुनीलाल प्रसादले माटोमा बोरन तत्वको कमीका कारण दाना नलागेको हुन सक्ने बताउनुभए पनि ठोस कारण भने भन्न सक्नुभएन । बरु विभागीय प्राविधिकहरू बोलाएर अनुसन्धान गर्न पहल गर्ने किसानहरूलाई जवाफ दिएर उहाँको टोली फर्किएको छ ।

केन्द्रका बागवानी अधिकृत श्यामकिशोर यादवसमेत सहभागी टोलीले राहत र कारणको खोजी गरिरहेका स्थानीय किसानलाई थप अनुसन्धान गर्ने र क्षतिपूर्तिका लागि स्थानीय सरकारसँग पहल गर्न भनेको स्थानीय किसानले बताए ।

उता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान जोन कार्यक्रमका एक जना कृषि अधिकृतले भने मरुवा रोग लागेर धानमा दाना नलागेको आशङ्का गर्नुभयो । उहाँले पनि समस्याको स्पष्ट कारण भन्न सक्नुभएन ।

ठोरी(३ बुद्धनगरका ५५ वर्षीय चित्रबहादुर खड्काले करीब एक बिघामा चैते धान लगाउनुभएको छ । बीउबिजन, खनजोत, मलखाद गरेर अहिलेसम्म करीब २५ हजार रुपैयाँभन्दा धेरै खर्च गरिसक्नुभएका खड्काको खेतमा धानको बाला रहर लाग्ने गरी झुलेको त छ तर दाना लागेको छैन, खोस्टो मात्र छ । उहाँले अब कतैबाट पनि क्षतिपूर्ति नपाउने भए ट्याक्टर लगाएर धान खेत नै जोत्ने बताउनुभयो ।

यस्तै, सोही वडाको रामनगरका करीब ६० वर्षीय कर्णबहादुर पुलामीको डेढ बिघा खेतमा पनि धानको अवस्था उस्तै समस्या छ । बाला सुक्न लागेको भएपनि खेतमा पानी लगाउँदै गरेका उहाँलाई पनि करीब ३० हजार रुपैैयाँभन्दा धेरै खर्च भएकोले तनाव थपिएको छ । बुद्धनगरका मुकुन्द ढुङ्गेललाई घरमा भएको धान पनि सकिएको र खेतमा पनि नफलेपछि अब धान किन्न नसकिएला भन्ने चिन्ताले पिरोलेको दुःखेसो पाख्नुभयो । उहाँको पनि खेतमा धानको बाला लागे पनि दाना लाग्नुअगाडि नै बाला सुक्न थालेको छ ।

तुलनात्मकरूपमा अन्य वडामा भन्दा सबैभन्दा धेरै चैते धानखेती हुने ठोरी(३ मा धानमा समस्या देखिएपछि किसानहरूको खेती गर्ने जाँगर नै मरेको छ । आफूले थाहा पाएसम्म आजभन्दा अगाडि यस्तो समस्या कहिले पनि थाहा नपाएको बुद्धनगरका एकजना ७५ वर्षीय ज्येष्ठ नागरिकले सुनाउनुभयो । आफूहरूलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने किसानहरूको माग छ ।

Leave a Reply