बारा,सिम्रौनगढ हालै संचालनमा आएको मालपोत कार्यालयबाट सेवा लिन अपायक भएको भन्दै महागढीमाई नगरपालिका बासिन्दाले सुरु गरेको सदरमुकाम कलैया केन्द्रीत आन्दोलन बुधवार तेस्रो दिन पनि जारी रहेको छ ।

यसअघि महागढीमाई नगरपालिका वडा नम्बर( ९ पिप्राबिर्ताका बासिन्दाले जिल्ला सदरमुकाम कलैयामा सुरु गरेको प्रदर्शनमा बुधवार सुवर्ण र देवताल गाउँपालिकाका सेवाग्राही पनि सहभागी बनेका हुन । उनीहरुले पनि कलैयाबाट सिम्रौनगढ सेवा क्षेत्रमा राखिएको विरोध जनाएका छन । देवताल गाउँपालिकका अध्यक्ष उदय यादवले जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर स्थानीयलाई कलैयाबाट नै यथावत सेवा दिने व्यवस्था मिलाउन सोमवार माग गर्नुभएको छ ।

सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, महागढीमाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दिलिप शुक्ला र देवताल गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष अरुण सिंहको नेतृत्वमा निस्किएको जुलुसले मालपोत र नापी कार्यालयमा पुगेर कार्यालयको सेवा अवरुद्ध बनाएको थियो । नारा जुलुसहित सेवाग्राहीको जुलुस पुगेपछि कार्यलयको काम दिउसो १२ बजेबाट ठप्प बनेको थियो । जुलुसका सहभागीहरुले कलैयाबाट यथावत सेवा दिने व्यवस्था गर, सिम्रौनगढको सेवा चाहिदैन, जनतालाई अपायक सेवा दिन पाइदैन जस्ता नारा लगाएका थिए ।

सिम्रौनगढ मालपोत कार्यालयको सेवा क्षेत्रमा राखिएपछि यस क्षेत्रका बासिन्दा ३ दिनदेखि आन्दोलनमा छन । उनीहरुले यसअघि जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयमा बुझाएको ज्ञापनपत्रमा उल्लेख भए अनुसारको माग पुरा नभएपछि आन्दोलनको घोषणा गरेका हुन ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले आन्दोलनकारीका प्रतिनिधिहरुलाई कार्यालयमा बोलाएर बिहीवार सर्वदलीय बैठक बस्ने र सिम्रौनगढमा अपायक परेको भनिएको क्षेत्रका सेवाग्राहीहरुको बारेमा निर्णय लिने बताउनुभएको पिप्राबिर्ताका शिक्षक पन्नालाल दासले जानकारी दिनुभयो । उहाँले बिहीवारको बस्ने भनिएको सर्वदलीय बैठकको निर्णय अनुसार आन्दोलनको थप कार्यक्रम घोषणा हुने जानकारी पनि दिनुभएको छ ।

साविकको पिप्राविर्ता गाविसबाट १० मिनेटमा नै पुग्न सकिने कलैयाबाट हटाएर १ घण्टाभन्दा बढी समय लाग्ने सिम्रौनगढमा राखिएकोमा उनीहरुले असहमति जनाउदै आएका छन । त्यसैगरी सुवर्ण र देवतालका बासिन्दाहरुले पनि सिम्रौनगढको तुलनामा आफूहरुलाई सेवा लिन कलैया नै पायक पर्ने बताउदै आएका छन ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले एक साताअघि सिम्रौनगढ मालपोत कार्यालयको उद्धाटन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here