जनकपुरधाम । बालविवाह अन्त्य गर्न कानुनी व्यवस्था प्रभावकारी कार्यान्वयनसँगै समाजको सोच र व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
जनकपुरधाममा मंगलबार आयोजित बालविवाह अन्त्यसम्बन्धी सामुदायिक सचेतना तथा पैरवी कार्यक्रममा उपमहानगरपालिकाकी उपप्रमुख किशोरी साहले बालविवाहजस्तो सामाजिक कुरीति अन्त्य गर्न समुदायस्तरबाटै अभियान सञ्चालन गर्नुपर्ने बताइन् ।
उनले सडक नाटकसहित विभिन्न माध्यमबाट बालविवाहविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै यस्ता गतिविधिले सामाजिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी मधेस प्रदेश अधिकृत कुमारी शर्माले बालविवाह राष्ट्रिय समस्याका रूपमा रहेको भन्दै यसको अन्त्यका लागि सरकारी निकाय, स्थानीय तह र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राखिन् ।
त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका–१४ का वडाध्यक्ष पूर्णप्रसाद यादवले आफ्नो वडामा हालसम्म सातवटा बालविवाह रोक्न सफल भएको जानकारी दिए । उनले आगामी दिनमा पनि बालविवाहविरुद्धका सचेतनामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
मुस्लिम महिला कल्याण समाज नेपालकी अध्यक्ष सीमा खानले बालविवाह अन्त्यका लागि नेपाल सरकारले राष्ट्रिय रणनीति अवलम्बन गरेको उल्लेख गर्दै बालविवाहमुक्त समाज निर्माण गर्न सरकार, स्थानीय तह, नागरिक समाज र समुदायको संयुक्त प्रयास आवश्यक रहेको बताइन् ।
कार्यक्रममा प्रस्तुत सडक नाटकमार्फत बालविवाहका कारण किशोरीहरूको शिक्षा, स्वास्थ्य तथा भविष्यमा पर्ने नकारात्मक असरबारे सहभागीलाई जानकारी गराइएको थियो ।

















