पुष्पराज खतिवडा
मनहर्वा,बारामा रसायनिक मलको चरम अभाव भएकोछ । गहुँ, मकै, तरकारीलगायत बालीमा हाल्न युरिया मल नपाएर समस्या भएको किसानहरुले बताएका छन् ।
समयमा मल नपाउँदा उत्पादन नहुने र लगानी डुब्ने जोखिम भएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वाका हरि खड्काले बताउनु भयो । “मकैमा मल हाल्ने बेला भएको छ, तर सहकारी संस्था र बजारमा पनि मल छैन, उहाँले भन्नुभयो । स्थानीय साना किसान कृषि सहकारी संस्थामा किसानको मागअनुसार पर्याप्त युरियाका नभएका कारण आफुले पाउन नसकेको उहाँले बताउनुभयो ।
यस्तै अर्का स्थानीय किसान मुकेश वाईवाले दुई बोरा युरिया मल चाहिएकोमा २० किलो मात्रै पाइएको बताउनुभयो । ‘त्यति मलले एकछेउ पुग्दैन, उहाँले भन्नुभयो, मकैमा मल हाल्न नपाए महँगो बिउ, जोताइ, ज्यालामा गरेको खर्च खेर जाने चिन्ता छ ।’
नगरपालिकाले मनपरी डिलर बाँडेका कारण धेरै सदस्य आवद्ध संस्थाहरुले प्राप्त गर्ने थोरै मलको कोटाले मल अभाव भएपछि विवादमात्रै गराएको स्थानीय साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी उपाध्यक्ष फूलकुमारी बस्नेतले बताउनुभयो ।
किसानलाई रसायनिक मल उपलब्ध गराउने जिम्मेवार निकायको रुपमा रहेका साल्ट टे«डिङ्ग तथा कृषि सामग्री कम्पनीले पर्याप्त मल दिन सकेका छैनन् । खेती गर्ने हजारौं किसान मलको बारेमा बुझ्न भन्दै दिनहुँ सहकारी संस्थाको कार्यालयमा आउनुहुन्छ । तर मल भने कहिले काँही मात्रै पाइन्छ । थोरै मल कम्पनीबाट थोरै मल आउने गरेकोले कसलाई दिने र नदिने वितरण गर्न नै समस्या हुन्छ संस्थाकी उपाध्यक्ष बस्नेतले गुनासो गर्नुभयो ।
साल्ट टे«डिङ्ग कर्पाेरेशन लिमिटेड वीरगन्ज पर्साका सूचना अधिकारी संजयकुमार गुप्ताका अनुसार आर्थिक बर्ष २०७८÷०७८ मा बारा जिल्लाका लागि यूरिया ५ हजार ५९३ मेट्रिकटन, डिएपी ३ हजार २६३ मेट्रिकटन र पोटाँस ४६६ मेट्रिकटन प्रदेश सरकारले निर्धारण गरेको थियो । कोटाको ३० प्रतिशत कर्पोरेशन र ७० प्रतिशत कृषि सामग्री कम्पनीमार्फत वितरणको जिम्मा छ । उपलब्धताका आधारमा मलको सिजन अनुसार नियमित वितरण भइहेकै भएपनि पर्याप्त हुन नसकेको सूचना अधिकारी गुप्ताले बताउनुभयो ।
सरकारले देशभरिका लागि बार्षिक ७ लाख मेट्रिकटन रसायनिक मल तेस्रो मुलकबाट खरिद गर्दै आएको छ । सोही अनुसारको बजेट बनाएको सरकारलाई डलरको मुल्यमा आएको बृद्धिका कारण निर्धारित परिमाण आयात गर्न समस्या भएको बुझिएको गुप्ताले बताउनुभयो ।
त्यसैगरी किसानहरुका कारणले पनि मल अभाव भएको हो । सिजनमा अभाव हुने भन्दै किसानहरुले पनि अनावश्यक रुपमा मल खरिद गरेर भण्डारण गर्ने गरेका छन । प्रतिकठ्ठा २ केजी प्रयोग गर्नु पर्ने ठाउँमा ५ केजीभन्दा बढी प्रयोग गर्ने गरिएका कारणले पनि यस्तो अवस्था आएको अधिकृत गुप्ताले बताउनुभयो । “किसानहरुलाई मल प्रयोग विधि जानकारी गराउने काम पालिकाहरुको हो, उहाँले भन्नुभयो, तर मलको प्रयोग गर्ने बारेमा पालिकाको भुमिका राम्रो देखिएन जस्ले गर्दा समेत समस्या भैरहेको छ ।”