कलैया,स्थानीय तह निर्वाचनको हालसम्म आएको मतपरिणामको आधारमा बारा जिल्लामा नेकपा एमाले सबैभन्दा ठुलो दल बन्ने देखिएको छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा दुई पालिकाको प्रमुख, उपप्रमुख र एक स्थानमा उपप्रमुख जितेको एमालेले यस पटक चार पालिकामा प्रमुख, उपप्रमुख र एक पालिकामा उपप्रमुखमा बिजयी भएको हो ।
नेकपा एमालेले कलैया उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख, जीतपुरसिमरामा उपप्रमुख, निजगढ नगरपालिकामा प्रमुख र उपप्रमुख, परवानीपुर र प्रसौनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जित हात पारेको छ ।
अघिल्लो पटकको निर्वाचनमा प्रमुख समेत जितेको जीतपुरसिमरामा भने अहिले गठबन्धनबाट नेकपा माओवादी केन्द्रले जितेको छ । यसअघि प्रमुख सहित जित हात पारेको स्थानमा अहिले फरक नतिजा प्राप्त गरेको एमालेले अन्य पालिकामा भने आफूलाई उभ्याउँन सफल भएको छ ।
एमालेसँग अहिले ९ जना पालिका प्रमुख र उपप्रमुख छन् । एमालेले चार स्थान जित्दा सोही अनुसारको जित हात पारेको कांग्रेसले उपमहानगरपालिका भने गुमाएको छ । अघिल्लो पटक एक उपमहानगरपालिका, तीन नगरपालिका सहित ६ स्थानमा जित हात पारेको कांग्रेसले अहिले चार स्थानमा सिमित छ ।
कांग्रेसले गठबन्धन गरेको जीतपुरसिमरा, कलैया र निजगढ तीन वटा मैं सफलता हात पार्न सकेन् । माओवादी, जनता समाजवादी र एकिकृत समाजवादीसँग गठबन्धन गरेको कांग्रेसले कलैयामा प्रमुख, निजगढमा प्रमुख र जीतपुरसिमरामा उपप्रमुख पदमा पराजय व्यहोरेको हो । जिल्लाको एउटा पालिकामा विवेकशील साझा पार्टीले जित हात पारेको छ । विवेकशीलबाट फेटा गाउँपालिकामा रुस्तम अंसारी अध्यक्ष र निलम साह उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

















