सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सोमवार पदभार ग्रहण गर्नुभएको छ ।

जिल्ला न्यायधिस एवंम् बाराका मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीसँग आइतवार शपथ लिनुभएका पौडेलले कार्यालयमा पुगेर सोमवार पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै नगर प्रमुख पौडेलले सामुदायिक विद्यालयमा भर्ना हुने आधारभूत तहका विद्यार्थीलाई निःशुल्क पोशाक उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कक्षा १ देखि ५ सम्म भर्ना हुने विद्यार्थीलाई निःशुल्क पोशाक उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको नगर प्रमुख पौडेलले बताउनु भयो । पदभार ग्रहण गर्नुअघि उहाँले जनयुद्धका शहिद परिवारलाई सम्मान गर्नुभएको थियो । पदभार ग्रहणपछि सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिनुभएका पौडेल जनयुद्धका घटना सम्झिएर भावुक बन्नुभएको थियो ।

जनयुद्धका क्रममा बेपत्ता रहेका र ज्यान गुमाएका नागरिकलाई सम्झदै नगर प्रमुख पौडेलले जनयुद्ध कै बलमा आफूले उपमहानगरपालिकाको नगर प्रमुखसम्मको यात्रा तय गर्न सकेको बताउनु भयो । पदभार ग्रहण कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल, नेकपा माओवादी केन्द्र बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, उपमहानगरपालिकाका लेखा प्रमुख राजेन्द्र कार्की, प्रशासन प्रमुख बालाराम खड्का लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

Leave a Reply