निजगढ,होटल तथा पर्यटन व्यवसायी संघ ईकाइ कार्यालय निजगढको आइतवार सम्पन्न दोस्रो अधिवेशनले रामकृष्ण घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा गठन गरेको छ ।अधिवेशनको बन्द सत्रले युवा व्यवसायी घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सञ्जिव लोप्चन, उपाध्यक्ष अस्मिता पहाडी, महासचिवमा उमेश दाहाल, सचिवमा ढकबहादुर खत्री, कोषाध्यक्षमा सुरेश राउत र सदस्यहरुमा रिना गौतम, चित्रबहादुर लामा, अशोक श्रेष्ठ, रुपक गौतम, सर्जु थापा, रोहित भण्डारी रहनुभएको छ । रिक्त रहेको एक सदस्य भने पछि थप गर्ने सहमति भएको छ ।अधिवेशनको उद्धाटन सत्रमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि होटल तथा पर्यटन व्यवसायी एंव वरिष्ठ चलचित्रकर्मी युवराज लामाले निजगढमा होटल र पर्यटन व्यवसायको प्रचुर शंभावना रहेको बताउदै साना ठुला सबै व्यवसायी एकतावद्ध भएर काम शंभावनाको खोजी गर्नुपर्ने बताउनुभयो । उहाँले व्यवसायीहरुको हकहितका लागि सबै मिलेर काम गर्न जरुरी रहेको पनि बताउनुभयो । एकता, सहकार्य र व्यवसायिक दृष्टिकोणले काम गरेमात्रै व्यवसाय र व्यवसायीहरुको पनि संरक्षण हुने बताउनुभयो ।पछिल्लो समय निजगढ पनि होटल तथा पर्यटन व्यवसायको उर्वरभूमी बन्दै गएको भन्दै उहाँले काठमाण्डौं– निजगढ दु्रतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेलवे लगायतको जक्शनको रुपमा विकास हुदै गरेको निजगढमा दीर्घकालिन सोंच र योजनाका साथ व्यवसायलाई परिष्कृत गर्दै लैजानुपर्नेमा प्रमुख अतिथि लामाले जोड दिनुभयो ।त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि एंव होटल तथा पर्यटन व्यवसायी संघ बारा अध्यक्ष अर्जुन लम्सालले पनि यस होटल तथा पर्यटन क्षेत्रको विकासको लागि व्यवसायीहरुको हकहित र एकता अनिवार्य शर्त रहेको बताउनुभयो । ‘जबसम्म होटल व्यवसायलाई शान्त, सुरक्षित, भयरहित ढंगले २४सैं घण्टा खुल्ला गर्न सकिदैन, तबसम्म व्यवसायी पनि फस्टाउन सक्दैन ।’ जिल्ला अध्यक्ष लम्सालले भन्नुभयो । व्यवसायीहरुको आर्थिक उन्नति र सुरक्षाको लागि व्यवसायलाई मर्यादित र सेवामा गुणस्तर वृद्धि गर्नुुपर्ने बताउनुभयो । कार्यक्रममा पत्रकार गोकुल घोरसाइने, जीतलाल श्रेष्ठले समेत मन्तब्य राख्नुभएको थियो ।ईकाइ कार्यालय निजगढका अध्यक्ष प्रभात सिग्देलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा निजगढ नगरभरिका होटल तथा पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।



















