वीरगन्ज,कोरोनाको पहिलो लहरका बेला कोरोना महमारीको हटस्पट नै बनेको वीरगन्जमा फेरि संक्रमणको दर उच्च देखिएको छ । वीरगन्ज स्थित नारायणी अस्पतालमा आइतबार बेलुकी ६० जनाको पीसीआर परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार बेलुकी ६० जनाको स्वाब नमुना परीक्षण गर्दा पर्साका २३ र बाराका ५ गरी २८ जनामा संक्रमण भेटिएको हो । परीक्षण गराएका मध्ये झण्डै आधा जनामा संक्रमण भेटिएको हो । संक्रमण पुष्टि भएका मध्ये पर्साका २३ जना मध्ये वीरगन्ज महानगरपालिकाका मात्रै २१ जना छन् । पर्साको विन्दवासीनी गाँउपालिका र बहुदरमाई नगरपालिकाका १÷१ जना छन् । यस्तै संक्रमण पुष्टि भएका बाराका ५ जना मध्ये कलैया उपमहानगरपालिकाका १ जना, जितपुरसिमरा उपमहानगरपालिकाका २ जना, कोहल्बी नगरपालिकाका १ जना र परवानीपुर गाँउपालिकाका १ जना रहेको नाराणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । वीरगन्जमा गत असोज १२ गते पछि आइतबार एकै दिन यति धेरै संख्यामा नयाँ संक्रमति थपिएका हुन् । असोज १२ मा १९२ जनाको स्वाब परीक्षण गर्दा २४ जनामा मात्र संक्रमण भेटिएको थियो । तर आइतबार बेलुकी ६० जनाको मात्रै परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो । यसैबीच वीरगन्जमा पछिल्लो एक हप्तामा मात्रै ८७ जना नयाँ संक्रमित थपिएका छन् । चैत २३ देखि चैत २९ सम्म वीरगन्जको नारायणी अस्पतालमा २ सय ११ जनाको पिसिआर परीक्षण गर्दा ती मध्ये ८७ जनामा संक्रमण भेटिएको हो । ती मध्ये पर्साको मात्रै ५९ जना छन् । २७ जना बाराका र १ जना सर्लाहीका छन् । चैत महिना यता थपिएका संक्रमितहरुमा अधिकांश युवा उमेर समुहका रहेको डाक्टर दासले बताउनुभयो । नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले पर्सामा फेरि संक्रमण समुदायस्तरमै पुगी सकेको संकेत देखा परेको बताउनुभयो । भारतमा संक्रमणको दोश्रो लहर शुरु भएपछि पर्सामा शुरु शुरुमा भारताबाट घर फर्किएकाहरुमा संक्रमण देखिएको भन्दै उहाँले तर केहि दिन यता भने यहाको समुदायकै मानिसमा संक्रमण भेटिन थालेको बताउनुभयो । उहाँले कोरोनाको परीक्षण गराउन आउनेहरुमा लक्षण देखिएर आउनेहरु बढी रहेको बताउनुभयो । सामान्य लक्षण भएकाहरु भने परीक्षणका लागि नआएकाले उनीहरुबाट समुदायमा संक्रमण फैलिरहेको उहाँले बताउनुभयो । परीक्षणको दायरा बढाउने हो भने अझै धेरै संक्रमित थपिदै जाने अवस्था रहेको पनि उहाँको भनाइ छ । अहिले संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसीङ पनि राम्रोसंग नभइरहेकाले यसले संक्रमण झन फैलिने निश्चित रहेको डाक्टर सिंहले बताउनुभयो । डाक्टर सिंहका अनुसार वीरगन्जमा पछिल्लो ६ दिनमा ५ जनाको आकस्मिक रुपमा मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या देखिएर उपचारका लागि एडभान्स अस्पताल, तराई अस्पताल, वीरगन्ज हेल्थ केयर हस्पिटल र नारायणी अस्पतालमा आएका ५ जनाको मृत्यु भएको हो । तर उनीहरुमा कोरोना संक्रमण परीक्षण भने गरिएको छैन । उनीहरुको कोभिड निमोनियाका कारण मृत्यु भएको हुन सक्ने डाक्टर सिंहको अनुमान छ । संक्रमितको उपचारका लागि नारायणी अस्पतालमा ३७ बेडको छुटटै वार्ड स्थापना गरिएको छ । डाक्टर सिंहका अनुसार केन्द्र सरकारले उपलब्ध गराएको ९ करोडको खर्चमा अस्पतालमा २५ बेडको एचडियु, ७ बेडको आइसियु र ५ बेडको अब्जरबेसन वार्ड स्थापना गरिएको छ । पर्सामा पछिल्लो समय संक्रमण पुष्टि भएका मध्ये हाल ६३ जना होम आइ आइशोलेशनमा छन् भने नारायणी अस्पतालमा ३ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिनुभयो ।

यसैबीच वीरगन्ज नाकामा परीक्षणका क्रममा दुईजनामा एन्टिजेन पोजिटिभ देखिएको छ । भारतको झारखण्डबाट आएकी २८ वर्षीया महिला र वीरगन्ज– १३ का ३४ वर्षीय पुरुषमा एन्टिजेन पोजिटिभ पुष्टि भएको हो । झारखण्डबाट श्रीमान्लाई भेट्न आएकी महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि भारततर्फ नै फर्काउने तयारी भइरहेको छ भने ३४ बर्षीय पुरुष होम आइसोलेसनमा बसेका छन् । महिलामा कुनै किसिमको लक्षण देखिएको छैन भने पुरुषलाई १०० डिग्री ज्वरो आएको छ । हेल्थ डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट सैनुल्लाह हवारीले शुरुमा ती महिलाले एन्टिजेन परीक्षण गराउन नमानेको बताउनुभयो । हेल्थ डेस्कले संक्रमित फेला पारिसकेपछि व्यवस्थापनमा भने समस्या भइरहेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरु बताउँछन् । जिम्मेवार व्यक्ति नतोकिदिँदा आफूहरुलाई समस्या भएको उनीहरुले बताएका छन् । सोमबार हेल्थ डेस्कमा ६० जनाको एन्टीजेन परीक्षण गरिएको छ । सीमामा जाँचमा खटिएका स्वास्थ्यकर्मीहरुले भने जनशक्ति अभाव भएका कारण काम गर्न निकै समस्या भएको गुनासो गरेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जनशक्ति थपेरै भएपनि हेल्थ डेस्कलाई व्यवस्थित गरिने बताउनुभयो । उता पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,१०५ जनामा गरिएको पीसीआर परीक्षणमा ४९६ जना र ७२७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले सोमबारदेखि एन्टिजेन परीक्षणलाई पनि संक्रमितको सूचीमा राखेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । त्यस्तै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १३८ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १५९, ललितपुरमा ४४, बाँकेमा ४१, रुपन्देहीमा २९, पर्सामा २५, दाङमा २४, कास्कीमा २३, कैलालीमा १४ र मोरङमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply