नरेश गुप्ता

बरियारपुर,सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख रिनादेबी कुशवाहाले ऐतिहासिक नगर सिम्रौनगढमा रहेका पुरातात्विक सम्पदाको संरक्षण हुन नसकेको बताउनु भएको छ । जनचेतना समाज नेपाल कलैयाले सिम्रौनगढमा रामनवमीको अवसरमा बुधबार आयोजना गरेको सिम्रौनगढ महोत्सवको उदघाटन गर्दै उपप्रमुख कुशवाहाले ऐतिहासिक नगरी सिम्रौनगढका प्राचीन र पुरातात्विक महत्वका सम्पदाहरु दिनप्रतिदिन लोप हुँदै गएकोमा संरक्षणमा ध्यान दिन सबैसंग आग्रह गर्नुभएको थियो ।

सिम्रौनगढस्थित ईशरा पोखरी, कंकालिनीमाईको मन्दिर, ऐतिहासिक रानिबास मन्दिरलगायत प्राचीनकालका मुर्ति र अन्य वस्तुहरुको संरक्षण गर्नुको साथै सिम्रौनगढलाई विश्व मानचित्रमा परिचित गराउने कार्यमा लाग्नु सबैको दायित्व रहेको बताउनुभयो ।

कोरोना महामारीको कारण बढी भिडभाड नगर्न सरकारद्वारा जारी सूचनालाई मध्यनजर गर्दै महोत्सव तीन दिनसम्म संचालन नगर्ने उहाँले बताउनुभयो । सिम्रौनगढ महोत्सवमा बोल्दै स्थानीय समाजसेवी हरेन्द्र कुशवहाले लामोसमयदेखको अथक प्रयासपछि महोत्सव आयोजना गरिएको भएपनि नगर प्रमुख बिजयशंकर यादव महोत्सवमा सहभागी नहुदाँ सिम्रौनगढको विकास र संवृद्धिमा स्थानीय तहका जनप्रतिनिधिको सहभागिता र सक्रियतामा प्रश्न उठेको बताउनुभयो ।

त्यसैगरी नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहताले सिम्रौनगढको ऐतिहासिक धरोहरलाई संरक्षण गर्नु स्थानीय तहको पहिलो दायित्व रहेको बताउनुभयो । सिम्रौनगढलाई चिनाउन यहाँको पुरातात्विक सम्पदाहरुको संरक्षण जरुरी रहेको उहाँले बताउनुभयो । पर्यटन उद्योग, वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर २ को सहयोगमा आयोजना गरिएको महोत्सवमा वडा अध्यक्ष खुसीलाल महतो, राजेश यादवलगायतले महोत्सवले आउने दिनमा सिम्रौनगढको विकासमा टेवा पुग्ने बताउनुभयो । जनचेतना समाज नेपालका अध्यक्ष मुना कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमानन्द मुखियाले सहजीकरण गर्नुभएको थियो । यसैबीच प्रसिद्ध ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल सिमरौनगढमा वषौंदेखि लाग्दै आएको राम नवमी मेला यसपाली पनि बुधबारदेखि लागेको छ । चैते दशैको उपलक्ष्यमा चैत्र शुक्ल पक्ष नवमी तिथिमा लाग्ने मेलालाई नेपाल कै ठूलो मेला मध्ये एकको रुपमा लिने गरिन्छ । नेपालकै ठूलो धार्मिक सम्भावना बोकेको सिम्रौनगढमा महानशक्ति पिठ कन्काली मन्दिर र राम जानकीकोे मन्दिर छ । कोभिडको प्रकोपले मेलालाई प्रभावित पारेपनि नगर प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले स्वास्थ्य नियमको पालना गराउदै समाजिक दुरी कायम गराएर र मास्क समेत वितरण गरेर मेलालाई व्यवस्थित बनाएका छन् । मेलाको मुख्य आकर्षणको रुपमा पारम्पारिक नेटुवाको नाच रहने गरेको छ । ६ दशक अगाडिसम्म तीन महिनासम्म लाग्ने मेला, केहि वर्ष यतादेखि भने दुई दिनमा सीमित हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here