नरेश गुप्ता

बरियारपुर,हात्तिपाइले रोगविरुद्ध आमऔषधी सेवन अभियान सफल बनाउन कलैयामा मंगलबार पत्रकारसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाराको आयोजनामा सुरु भएको कार्यक्रममा मधेस प्रदेश स्वास्थ निर्देशनालय जनकपुरधामका निर्देशक डा बिजयकुमार झाले हात्तिपाइले रोगविरुद्ध आमऔषधि सेवन कार्यक्रम मधेस प्रदेशको आठ वटै जिल्लामध्ये बारा जिल्लामा संक्रमित फेला परेको जानकारी दिनुभयो । एक सर्भेक्षणका अनुसार बाराको महागढीमाई नगरपालिकाको वडा नम्बर २ मा ९ जना र देवताल गाउँपालिकामा हात्तिपाईलका रोगी फेला परेपछि बारा जिल्लामा फेरि औषधि सेवन गर्ने अभियान सुरु गर्न लागिएको हो ।

आगामी फाल्गुन २८ गतेदेखि १४ दिनसम्म अभियान संचालन गरिने पत्रकार समेलनमा जानकारी गराइएको थियो ।

हात्तिपाइले रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट स्वस्थ ब्यक्तिमा समेत सार्ने भएकोले गर्भवती महिला, अशक्त, दुई वर्षमुनिका बालबालिका बाहेक सबैले औषधि सेवन गर्नु पर्ने जनस्वास्थ्य अधिकृत रामनरेश यादवले जानकारी दिनु भयो ।

हात्तिपाइले रोगविरुद्ध आमऔषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहबाट औषधि सेवन विधिलाई प्रभावकारी रुपबाट प्रचारप्रसार गरिनु पर्नेमा संचारकर्मीहरुले जोड दिएका थिए ।

सन २०२८ सम्ममा यो रोगलाई निर्मुल पार्न जनस्वास्थ्यको मुख्य समस्या तथा चुनौति रहेकोले आमऔषधी सेवन कार्यक्रमलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा संचालन गर्नु पर्ने जनस्वास्थ्य अधिकृत यादवले बताउनुभयो । हातिपाईले रोग विरुद्धको आमऔषधि सेवन अभियान कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहका जनप्रतिनिधि, पत्रकार र प्रशासन समेतले पहिला आफूले औषधी सेवन गरि सर्वसाधारणमा डर त्रास हटाएर आमनागरिकलाई औषधि सेवनमा प्रेरित गर्नु पर्ने पनि उहाँले बताउनुभयो । हात्तिपाईले रोग विरुद्धको आमऔषधी सेवन अभियान कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here