निजगढ,निर्वाचन अधिकृतको कार्यालय निजगढले जारी आचारसंहिता विपरीत सिँचाईको पिइप झार्न रोक लगाएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरीत माओवादी पार्टीका कार्यकर्ताहरुले बिहीवार दिउसो निजगढ नगरपालिका वडा नम्बर ७ को योजना टोलमा पाईप झार्दै गरेको अवस्थामा निर्वाचन अधिकृतको कार्यालयले रोक लगाएको हो ।

‘केही मानिसहरुले पाईप झार्दै गरेका थिए, निर्वाचन कार्यालय निजगढका अधिकृत शम्भुप्रसाद दहालले भन्नुभयो, आचारसंहित विपरीत देखिएकोले रोक लगाएका छौं ।’ ना ४ ख १८४३ नम्बरको ट्रकमा राखेर वीरगन्जबाट ल्याइएको ६२ थान जिआइ पाइप मध्ये केही थान झारेपछि कार्यालयको टोली घटनास्थलमा पुगेर रोक लगाएको हो ।

स्थानीयबासिन्दाका अनुसार निजगढ नगरपालिका वडा नम्बर ७ मा कांग्रेस(माओवादी गठबन्धनबाट वडा अध्यक्षका प्रत्यासी मोहन डि.सीले आचारसंहिताविपरीत सिँचाई विभागको बजेटमा खरिद भएको डिप बोरिङ्ग पाईप आफनो तजबिजमा झार्न लगाएका हुन । वडा अध्यक्षका उम्मेदवार डि.सी आफै उपस्थित नभए पनि आफ्ना भाइ लेखबहादुर डि.सीलाई पाईप झार्ने कामको रेखदेख गर्न खटाएका थिए । आफूलाई दाइ मोहनले पाईप झारेर व्यवस्थापन गर्न अह्याएको लेखबहादुरले बताउनुभयो ।

कालिका ड्रिल्लिङ कम्पनीको नाममा एक दिनअघि मात्रै हुलास आइरन उद्योगबाट १० इन्चको ३६ वटा र ६ इन्चको २६ वटा पाइप खरिद गरि बिहिबार दिउसो निजगढ ल्याइएको ट्रक चालक दिपेशकुमार भगतले बताउनुभयो ।

वडाबासीले ट्रकबाट पाइप झारेको देखेपछि निर्वाचन अधिकृत बराललाई तत्काल खबर गरेका थिए ।

यता स्थानीय बासिन्दाहरुले निर्वाचनको मुखैमा मतदातालाई प्रभावित पार्न पाईप झारेको भन्दै गठबन्धन दलका नेताहरुको विरोध जनाएका छन् ।

निर्वाचन अधिकृत बरालले पनि आगामी निर्वाचनमा मत प्रभावित पार्न आचारसंहिता विपरीत डिप बोरिङ्ग निर्माणको लागि पाईप झार्दै गर्दा रोक लगाएको बताउनुभयो ।

Leave a Reply