मनोज शाह
जीतपुर,बोनस रकमको माग गर्दै जीतपुरसिमरा उपमहानगरपालिकास्थित हिमाड्री फूड्स प्रालिका मजदुरहरु धर्नामा बसेका छन ।जीतपुरसिमरा उपमहानगरपालिका– ५ रातेपुलको छेउमा रहेको हिमाड्री फूड्स प्रालिले चाडबाडको बेलामा पनि बोनस रकम नदिएपछि उद्योगमा कार्यरत २५ जना अस्थायी श्रमिकहरुले उद्योग परिसरमै धर्ना शुरु गरेका हुन ।
अस्थायी श्रमिकहरुले तिहारमा पाउनु पर्ने बोनस रकम नपाएपछि धर्नामा बस्नुपरेको बताएका छन । ‘उद्योगले सहमति अनुसार बोनस रकम नदिएपछि धर्ना बस्न बाध्य भएका छौं, आन्दोलनरत मजदुर सारु राईले भन्नुभयो, सहमति र श्रम ऐनअनुसार रकम नपाएसम्म धर्ना जारी रहने छ ।’

उद्योग व्यवस्थापन पक्ष र श्रमिकहरुबीच भएको सहमतिअनुसार तिहारअगाडि नै २ महीनाको बोनस रकम दिने सहमति भएको थियो । तर उद्योग व्यवस्थापन पक्षले सहमतिविपरित तर एक महीनाको मात्र बोनस दिएपछि श्रमिकहरु आन्दोलित बनेका हुन ।श्रमिकहरुले जेठ २९ गते श्रम ऐन २०७४ को दफा ११६ (२) बमोजिम ३ सदस्यीय सामुहिक बोनस माग दाबी पेश गरेको मजदुर सारु राईले बताउनुभयो । सम्झौता अनुसार आफुहरुलाई बोनस दिन आनाकानी गरेपछि अस्थायी मजदुरहरु धर्नमा बसेको उहाँको भनाई छ ।

दैनिक १२ घण्टासम्म काम गरेर उद्योगको प्रगति गराए पनि उद्योग व्यवस्थापन पक्षले बोनस रकम नदिँदा आफूहरु समस्यामा परेको र छिमेकी र आफन्तसंग रकम सापटी लिएर तिहार पर्व मनाएको अर्की कमदार अञ्जली लामाले बताउनुभएको छ ।हिमाड्री फूड्स प्रालिले दशैं अगावै सबै तहका श्रमिकलाई बार्षिक २ महिना अर्थात ६० दिन बराबरको अधारभूत पारिश्रमिक एकमुष्ठ वितरण गर्ने सहमति गरेको भए पनि श्रमिकलाई एक महिनाको मात्र बोनस उपलब्ध गराएपछि समस्यामा परेका श्रमिकहरु उद्योगको काम नै बन्द गरेर आन्दोलनमा उत्रिएका हुन ।यता, हिमाड्री फूड्स प्रालिका प्रशासन शाखा प्रमुख सुनिता बरालले हाल उद्योगको उत्पादन बन्द भएका कारण उद्योगले श्रमिकहरुलाई बाँकी एक महिनाको बोनस रकम उपलब्ध गराउन ढिलाइ भएको बताउनुभयो । उहाँले उद्योगको उत्पादन शुरु भएपछि बाँकी रहेको बोनस रकम उपलब्ध गराउने जानकारी दिनुभयो ।उद्योगले चकलेट, चिजबललगायत विभिन्न खाद्य बस्तुको उत्पादन गर्दैआएको छ ।पथलैया– वीरगञ्ज औद्योगगिक करिडोरका अधिकांश उद्योगले आर्थिक मन्दीको बहाना बनाएर कहिले कर्मचारी कटौति गर्ने त कहिले श्रमिकहरुलाई तलब नदिने जस्ता कार्य गरेकाले श्रमिकहरुले समस्या बेहोर्र्दैआएका छन ।

Leave a Reply