निजगढ÷जितपुर, १४ साउन– कोरोना भाइरस संक्रमण पुष्टि भएका निजगढका एक युवकलाई उपचारको लागि पठाउने तयारी गरेर पनि मंगलबारसम्म उनलाई कलैया पठाइएन ।
जिल्ला प्रशासन कार्यालय कलैयाले सवारी साधन नपठाएको र निजगढको एम्बुलेन्ससमेत बिग्रिएकोले कोरोना संक्रिमित युवकलाई उपचारकोलागि कलैयास्थित कोभिड अस्पतालमा पठाउन नसकिएको हो ।
स्वास्थ्य शाखाले संक्रमण पुष्टि भएपछि उपचारको लागि युवकलाई मंगलबार बिहानदेखि नै कलैया पठाउने तयारी गरेको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रमेश लामाले जानकारी दिनुभयो ।
निजगढ नगरपालिका वडा नम्बर– ४ पुरानो टोल घर भएका २२ वर्षीय युवकमा सोमबार कोरोना पुष्टि भएपछि उपचारको लागि मंगलबार कोरोना अस्पताल कलैया पठाउने तयारी गरिएको स्वास्थ्य शाखा संयोजक लामाले जानकारी दिनुभयो ।
सबै तयारी पुरा भएर पनि प्राविधिक कारणले उपचारमा पठाउन नसकिएको लामाले बताउनुभयो । संक्रमित युवकको अवस्था सामान्य रहेकोले पनि उपचारमा पठाउन हतार नगरिएको उहाँले बताउनुभएको छ ।
स्वास्थ्य शाखाले कन्ट्याक ट्रेसिङ्गको आधारमा युवकको प्रतक्ष्य सम्पर्कमा आएका परिवारका सदस्य र एक जना चालकसहित ६ जनाको भने पहिचान गरी मंगलबारबाट होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको छ ।
अध्ययनको क्रममा भारतको बेङलोर गएका युवक गाउँकै छिमेकी एक चालकको जिपमा चढेर जनकपुर हुदै गत साउन ८ गते निजगढ आएका थिए ।
निजगढ आएपछि सिधै वडा नम्बर– ९ मा रहेको गौरीशंकर क्याम्पस क्वारेनटाईनमा राखेर साउन ११ गते पीसीआर परीक्षणका गरिएकोमा युवकमा कोरोना पोजेटिभ पाइएको थियो ।
युवकको स्वाब हेटौडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा पठाइएको र पीसीआर परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको संयोजक लामाले बताउनुभयो । युवकलाई अहिले पनि निजगढस्थित गौरीशंकर क्याम्पसकै क्वारेन्टाइनमा राखिएको छ ।
उता, जितपुरसिमरा उपमहानगरपालिकामा सोमबार कोभिड– १९ संक्रमण पुष्टि भएका ३ जनालाई भने मंगलबार दिउसो उपचारको लागि वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको छ ।
जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १२ घर भएका वर्ष २६÷२६ वर्षका २ युवक र उनीहरुको सम्पर्कमा आएका जितपुरस्थित स्वास्थ्य चौकीका अर्का एक २२ वर्षका कर्मचारीमा पनि पिसिआर टेष्टमा संक्रमण पुष्टि भएको थियो ।
संक्रमित तीनै जनालाई उपचारको लागि वीरगंजस्थित उपक्षेत्रीय अस्पताल वीरगंज पठाइएको बताइएको छ ।